जुम्ला। कनकासुन्दरी गाउँपालिका – ५ वडा बालविवाह मुक्त घाेषणा गरिएकाे छ । शनिबार एक कार्यक्रमका बीच बालविवाह मुक्त घाेषणा गरिएकाे हाे । जुम्ला जिल्लाकाे भने चाैथाे वडा हाे । यसअघि पातारासी-४, तिला-६ र हिमा-१ बालविवाह मुक्त वडा घाेषणा भइसकेका छन् ।
बिहेवारी २० वर्ष पारी, हामी सबैकाे ऐेक्यबद्वता, बालविवाह मुक्त कनकासुन्दरी गाउँपालिकाकाे प्रतिबद्धता´भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएकाे थियाे ।कनकासुन्दरी गाउँपालिका – ५ वडापालिकाकाे आयाेजना र सहयाेग आत्मसम्मानका लागि सहकार्य, प्लान नेपाल,पेस नेपाल बालविवाह विरूद्व साझा अभियान सञ्जाल, आईएनएफ, जुम्लाकाे सहयाेग समन्वयमा वालविवाह मुक्त वडा घाेषणा गरिएकाे हाे । सरकारले सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त मुलुक घाेषणा गर्ने लक्ष्य रहेकाे छ ।
कनकासुन्दरीमा ८ वटा रहेका छन् । वडाकाे बालविवाह सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै कनकासुन्दरी – ५ वडा सचिव हिमाली भण्डारीले वडाले बालविवाह मुक्त सम्बन्धि १५ वटा सुचक पुरा गरेकाेले घाेषणा गरिएकाे बताइन् । वडा नम्बर ५ मा १३९० जना रहेका छन् ।
वडा नम्बर ५ मा पाँच वटा बस्ती रहेका छन् । उक्त अवसरमा बाेल्दै वडाअध्यक्ष विष्णुबहादुर बडुवालले पालिकाकै पहिलाे वडाकाे रूपमा बालविवाह मुक्त हुनु नमुना याेग्य कार्य भएकाे बताए । उनका अनुसार आगामी दिनमा घाेषणालाई पूर्णरूपमा कार्यान्वयन गरिनेछ । उनले वडामा अबदेखि बालविवाह हुनै नदिने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाका अध्यक्ष दामाेदर उपाध्यायले गाउँपालिका नै बालविवाह मुक्त गर्ने नीति लिइएकाे बताए ।



