
जुम्ला । जुम्लामा मंगलबारदेखी जात्रा सुरु भएको छ । कर्णाली प्रदेशकै लामो र ठुलो जात्राका रुपमा रहेको कृष्णाजन्माअष्टमी जात्रा जुम्लामा सुरु भएको हो ।
जुम्लामा यो जात्रा वि.सं १९५३ सालबाट निरन्तर मनाउदैँ आएको ऐतिहास छ । भदौ कृष्ण प्रतिपदाका दिनदेखी सुरु भएको जात्रा श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट लाखे काटेपछि मात्रै सकिन्छ । जात्राको पहिलो दिन मंगलबार गाईजात्रा देखाईएको छ । दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाईजात्रा निकालीन्छ । एक हप्ता लामो जात्रामा हजारौ जात्रुको भिड लाग्छ ।
गाईजात्रा देखी कृष्णाजन्माअष्टमी सम्म करिब एक साता निरन्तर जात्रा लाग्ने जात्रा व्यवस्थापन समितिका महासचिव आनन्द अधिकारीले बताए । उनका अनुसार पहिलो दिन गाईजात्रा चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतको घरबाट निकालिएको हो ।
मंगलबारदेखी सुरु भएको जात्रा आगामी भदौ ११ गते समापन हुने छ । एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यहरुको सम्झना र प्रतीकको रुपमा मानिसलाई गाईको रुपमा सिँगारेर वा गाईलाई नै खलंगाबजार परिक्रममा गरिएको छ ।
लिच्छविकालमा मल्ल राजा प्रताप मल्लले पुत्र शोकले विह्वल भएकी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । त्यसपछि रानीको मन शान्त हुन नसकेपछि हँसाउने कार्यक्रम गरेको किंवदन्ती छ ।
जात्राको समयमा भिडभाड हुने भएकोले आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरी सुरक्षा व्यवस्थालाइ मजबुद बनाइएको डिएसपी छेदिलाल कामतीले बताए । एक हप्ता चल्ने जात्रामा गाईजात्रा पछि रोपाइँ जात्रा, सानो पल्टन जात्रा, मिम बादशाह जात्रा र ठुलो पल्टन तथा बाघ भालु जात्रा लगायतका स्थानीय भाषा सांस्कृति झल्कीने झाँक्री समेत प्रदेश गरिने छ ।
जत्रा हेर्न कर्णालीका पाँच जिल्लासहित जाजरकोट, दैलेख, कालिकोट,मुगु सुर्खेत लगायतका जिल्लाबाट आउने गर्छन् । जात्रा अवधिभर जुम्लाको अर्थतन्त्र पनि चलायमान हुने व्यापारीहरु बताउँछन् ।