प्रतिष्ठानको दिक्षान्त समारोहमा प्रधानमन्त्री ओली जुम्ला आउँदै

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन जुम्ला आउने भएका छन्। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओली आगामी भदौ २३ गते जुम्ला आउन लागेका हुन।

स्थापनाको १३ वर्ष पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रथम दीक्षान्त समारोह गर्न लागेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।

उक्त दीक्षान्त समाराेहकाे प्रमुख अतिथीका रुपमा सहभागी हुन जुम्ला आउने कार्यक्रम तय भएकाे छ । त्यसकाे तयारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुटेकाे छ ।

‘अहिले हामी दीक्षान्त समारोहको तयारीमा जुटेका छौं,’ उनले भने, ‘दीक्षान्त समारोहका लागि कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति आइसकेको छ।’

सोही अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक विल्डिङ)को समेत उद्घाटन गर्ने प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।

२३ भदौको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसँगै सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि सहभागी हुन जुम्ला आउने छन् ।

प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुने छन ।

प्रतिष्ठानबाट जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तह गरि ५६ विद्यार्थी पास आउट भएको रेक्टर डा. डबल धामीले बताए।

प्रतिष्ठानबाट हालसम्म स्नातक तर्फ बीपीएचमा पहिलो र दोस्रो ब्याच गरी ३८ जना, बीएमएसमा दुई ब्याचको १३ जना र स्नातकोत्तर तर्फ एमडीजीपीमा ३ जना, एमडी एनेस्थेसियामा १ र एमडी पेडीयाट्रिक्समा १ गरी ५ जना सहित कुल ५६ जना पास आउट भएको प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाले बताए।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस