जुम्ला- नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णालीमा ७४.३८ प्रतिशत नागरिकमा मात्रै विद्युत्को पहुँच पुगेको छ । जुन अन्य प्रदेशको तुलनामा कम हो । कोशीमा ९९.०३, बाग्मतीमा ९९.९७, गण्डकीमा ९९.४०, लुम्बिनीमा ९८.४९ र सुदूरपश्चिममा ८६.५८ प्रतिशत विद्युतीकरण भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
कर्णाली प्रदेश अन्तर्गत जिल्लागत हिसाबले हेर्दा रुकुम पश्चिममा सबैभन्दा बढी ९५.०५ प्रतिशत विद्युतीकरण भएको छ । जबकि प्रदेश राजधानी समेत रहेको सुर्खेतका धेरै गाउँबस्तीहरु अझै विद्युत्को पहुँच बाहिर छन् ।
सुर्खेतमा ८६.४८ प्रतिशत विद्युतीकरण भएको छ । यस्तै मुगुमा सबैभन्दा कम ३१.८० प्रतिशत विद्युतीकरण भएको छ भने दैलेखमा ८१.०५, सल्यानमा ७९.५०, जाजरकोटमा ४९.८०, कालिकोटमा ७०.९६, जुम्लामा ६२.४७, डोल्पामा ४२.७४ र हुम्लामा ३२.५१ प्रतिशत नागरिकमा मात्रै विद्युत्को पहुँच विस्तार भएको छ ।
विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसीयात यादवका अनुसार प्रदेशका ९ वटा जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन (ग्रिड) पुगेको छ । एक मात्र हुम्ला जिल्लामा मात्रै राष्ट्रिय ग्रिड नपुगेको उनले बताए । तर राष्ट्रिय ग्रिड पुगेका जिल्लाहरूमा नै विद्युतीकरणको अवस्था कमजोर छ ।
कर्णालीका मात्रै १३ वटा पालिकामा विद्युतिकरण भएको छैन । कर्णालीका हिमाली क्षेत्र तथा ग्रामीण भेगहरूसहितका झण्डै २६ प्रतिशत घरमा विद्युत् विस्तार हुन सकेको देखिन्न । विद्युत् नपुगेका पालिकामा डोल्पाका ६, हुम्लाका ४, मुगुका ३ रहेका छन् । राष्ट्रिय प्रसारण लाइन पुगेपनि मुगुमा विद्युतीकरण हुन सकेको छैन भने हुम्लामा ३२.५१ प्रतिशत विद्युतीकरण भएको छ । त्यहाँ राष्ट्रिय ग्रिड बाहिर अर्थात् स्थानीय हाइड्रोपावर, लघु जलविद्युत्, सौर्य ऊर्जाबाटबाट विद्युत् बाल्ने काम भएको छ ।
रातोपाटीबाट



