जुम्ला – कर्णाली राजमार्ग माथिल्लो कर्णाली विशेषगरी जुम्ला, कालिकोट र मुगु जिल्लाको विकास मेरुदण्ड नै हो । यो राजमार्ग स्तरबृद्धि नभए पनि सडक खुलेपछि यहाँका नागरिकका लागि जीविकोपार्जनमा निकै सहज भएको छ । यहाँको उत्पादन निर्यात र बाहिरको सामान जिल्लामा भित्र्याउन सहज भएको छ ।
यो वर्षको साउन भदौँको बर्षादको बाढीपहिरोले पटक पटक सडक अवरुद्ध हुदा निकै समस्या हुने गरेको छ । यस पटक भदौँ १२ गते रातीदेखिको सडक अवरुद्धले स्याउ बोकेरका मालबहाक गाडी बाटोमै थन्किएका छन् । भदौँ महिना जुम्ला, कालिकोट र मुगुदेखि उत्पादन भएका स्याउ निर्यात गर्न सिजन हो ।
तर चार दिनदेखिको सडक अवरुद्ध भएपछि स्याउ बोकेका गाडी कालिकोट सडक खण्डका विभिन्न ठाउँमा सय भन्दा बढी बाटोमै रोकिएको हिमा गाउँपालिका – ३ मोफ्ला गाउँका बलबहादुर रोकायाले बताए । उनले भने ४÷५ दिनदेखि स्याउका गाडी बाटोमै थन्किएका छन् । स्याउ कुहिएर खेल जाने चिन्ता बढेको छ ।
समयमै सुर्खेत, नेपालगज्ज, दाङका बजारमा स्याउ विक्री गर्ने अपेक्षा गरेर स्याउ ढुवानी गरियो । तर करिव हप्ता दिनसम्मको सडक अवरुद्धले स्याउ कुहिएर खेर जाने भएपछि निकै घाटा व्यहोर्नु पर्ने स्थिति सिर्जना भएको उनले बताए ।
यस वर्ष करिव ४० करोड बराबरको स्याउ जुम्लाबाट निर्यात हुने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने कर्णाली राजमार्ग पटक पटकको अवरुद्धले स्याउ किसान र व्यापारी मर्कामा पर्ने स्थिति हुने देखिएको छ ।
कर्णाली राजमार्ग स्तरबृद्धि नहुदा सडकदेखि सदनसम्म विरोध भईरहेको छ । प्रतिनिधि सभा सांसद ह्रदयराम थानीले कर्णाली राजमार्ग लामो स्तरबृद्धि नभएको र दुईलेनको सडक निर्माण गर्न सदनमा सभामुखसहित प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
यस पटक अवरुद्ध भएको सडक ३÷४ दिनसम्म नखुलेपछि हिमा गाउँपालिका – १ का वडाध्यक्ष रतनबहादुर शाहीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेललाई ध्यानाकर्णण गरेका छन् ।
वडाध्यक्ष शाहीले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएर सडक छिटो खुलाउन माग गरेका छन् । उनले भने कर्णाली राजमार्गको गगने खोला र दैखोलामा बाढीपहिरो जादा सडक अवरुद्ध हुदा स्याउ बोकेका सयौँ गाडी अलपत्र अवस्थामा परेका छन् । स्याउ किसान र व्यापारी मारमा पर्ने अवस्था आएको छ । सडक नखुल्दा स्याउ कुहिएर खेर जाने अवस्था सिर्जना भएको छ ।
अवरुद्ध सडक छिटो खुलाउन र कर्णाली राजमार्ग स्तरबृद्धि गर्न हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीको नेतृत्वमा गएको टोलीले शनिबार प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरमार्फत नेपाल सरकार प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतन कुमार मण्डलका अनुसार अझै सडक खुलाउन समय लाग्ने बताए । उनले भने, भोली नै सडक खुल्ने स्थिति छैन । विशेषगरी कर्णाली राजमार्गको गगने खोला र दैखोलामा ठुलो क्षति भएको छ । पहिरो पन्छाउनेदेखि सडक निर्माण गर्न काम ३÷४ दिनदेखि निरन्तर काम भईरहेको छ ।



