हिमा गाउँपालिका साक्षर घोषणा,९५ प्रतिशत नागरिक साक्षर

जुम्ला । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । विहीबार एक कार्यक्रमका बीच बहुभाषिक शिक्षाको प्रवर्धन, पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता भन्ने मुल नारासहित हिमालाई साक्षर गाउँपालिका घोषणा गरिएको हो ।
जिल्लाका आठ पालिकामध्ये साक्षर घोषणा भएको हिमा पहिलो स्थानीय तह हो । जिल्लामा हिमा सहित छ वटा स्थानीय तह छन् । योसँगै हिमा साक्षर घोषणा हुने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । हिमाको कुल जनसंख्या १२ हजार आठ सय ४ छ । तीमध्ये १२ हजार २ सय ५६ जना साक्षर छन् । त्यो भनेको ९५.७२ प्रतिशत नागरिक साक्षर छन् भने निरक्षरको संख्या ४.२८ प्रतिशत रहेको छ ।

स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ जना,स्नातक गरेका १५५ जना, आइएड गरेका ८ सय जना रहेका छन् । यस्तै उच्च माविसम्म पढेकम ११ सय ९६,एसएलसी पास गरेका ९५० जना, एसईई गरेका १६ सय ४८ रहेका छन् । बालविकास तर्फ सामान्य साक्षरको संख्या ४२२ जना रहेको छ । पालिकामा रहेका प्रौढ जनसंख्या एक हजार ६ सय ६० जना र विद्यालय उमेरका ५ हजार ३ सय ७० जना साक्षर छन् ।

साक्षर हिमा गाउँपालिकाको सार्वजनिकिकरण घोषणा कार्यक्रम – २०८१ मा कर्णाली प्रदेश सरकारकी जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले साक्षर घोषणा गरिन् । उक्त अवसरमा बोल्दै जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले हिमा गाउँपालिका साक्षर पालिका घोषणा गरेर साक्षर कर्णाली प्रदेश बनाउने सरकारको लक्ष्यमा ईट्टा थपिएको बताईन् । उनले भनिन‘सामुदायिक शिक्षा सुधार गर्नु फलामको चिउरा चपाउनु जस्तै छ । तर हिमाले सामुदायिक विद्यालय र शिक्षा सुधारमा गरेको अभ्यास प्रशंसा योग्य छन् । कर्णालीका अन्य पालिकाले पनि अनुशरण गर्न जरुरी छ ।’

सामुदायिक विद्यालयका शिक्षालाई गुणस्तर बनाउन खानेपानी,सरसफाई पूर्वाधार विकास प्रशासनिक सुधारमा पनि जोड दिनु पर्ने मन्त्री बुढाको भनाई छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर हिमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए । जिल्लाका आठ पालिकामध्य शिक्षा क्षेत्र सुधारमा हिमाले पढाई मेलादेखी साक्षर घोषणा गरेर उल्लेखीय काम गरेको बताए । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले शिक्षाको विकास बिना अन्य भौतिक पूर्वाधार विकासको कुनै अर्थ नहुने उल्लेख गरे ।

सम्पूर्ण वडाअध्यक्षहरूको तफर्फबाट बोल्दै हिमा–१ का वडाअध्यक्ष तथा प्रवक्ता रतनबहादुर शाहीले हिमालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गर्नु नमुना कार्य भएको बताए । उनका अनुसार हिमाले शिक्षामा विशेष जोड दिएको छ । हिमाले हरेक वर्ष ३० प्रतिशत बजेट लगानी गरिरहेको बताए ।

साक्षर घोषणाको पेश नेपाल,किर्डाक नेपाल,प्लान नेपाल,सुसुवा र क्याड नेऐपालले समन्वय र साझेदारी गरेका थिए । ञसाक्षर नेपाल घोषणाको औचित्यताझ शीर्षकमा हिमाका ६ माविबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो । उक्त अवसरमा हिमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा प्रदान गरेका जग्गादाताहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस