जुम्ला—सिंजा गाउँपालिकाको नराकाेट स्वास्थ्य चौकीमा २१९ जना बिरामीको आँखा परीक्षण गरिएको छ । २० भदौंमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, तिलगंगा आँखा अस्पताल काठमाडौं र स्थानीय निकायको समन्वयमा सञ्चालन गरेको शिविरमा निःशुल्क आँखा परीक्षण गरिएको हो ।
आँखा परीक्षण गरिएका २१९ जनामध्ये ३९ जना मोतियाबिन्दु भएका बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शल्यक्रियाका लागि रिफर गरिएको सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयाेजक ललित राेकायाले बताए ।
शिविरबाट रेफर भएर आएका बिरामीको विश्व प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतको उपस्थितिमा २२, २३ र २४ भदौंमा शिविरबाट छनोट भएका आँखा बिरामीको मोतिविन्दुको शल्यक्रिया हुने प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाले बताए । ‘अब प्रतिष्ठानमा आँखा विभाग स्थापना भइसकेकोले नियमित शल्यक्रिया सेवा प्रवाह हुनेछ,’ उनले भने ।