जुम्ला- शिविरमा ६ सय जना जेष्ठ नागरिकको आँखा परीक्षण गरिएको छ । यहाँको डिल्लीचौर, नराकोट, लामाबगर र गोठीगाउँमा शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा परीक्षण गरेका ६ सय जना मध्ये रेफर भएर आएका ११७ जनाको मोतिविन्दु सल्यक्रिया गर्न थालिएको हो ।
सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा २१९ जना बिरामीको आँखा परीक्षण गरिएको थियो । जस मध्ये ३९ जना मोतियाबिन्दु भएका बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शल्यक्रियाका लागि रिफर गरिएको सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए ।
तातोपानी गाउँपालिकाको ताम्ती स्वास्थ्य चौकी लामाबगरमा १३७ जनाको आँखा परीक्षण गरिएको हो । जसमध्ये २७ जना रेफर भएको स्वास्थ्य शाखा प्रमुख गुरूप्रसाद चौलागाईँले बताए ।
पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा १४२ जना बिरामीको आँखा परीक्षण गरिएको थियो । जस मध्ये ३२ जना मोतियाबिन्दु भएका बिरामीको सल्याक्रिया गर्नका लागि रेफर जनस्वास्थ्य निरीक्षक सर्जन शाहीले बताए ।
गुठीचौर गाउँपालिकाको गोठीगाउँ आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा १०२ जनाको आँखा परीक्षण गरिएको हो । जस मध्ये १९ जनाको मोतिविन्द सल्यक्रिया गर्नको लागि रेफर गरिएको जनाएको छ ।
शिविरबाट रेफर भएर आएका बिरामीको विश्व प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतको उपस्थितिमा २२, २३ र २४ भदौंमा मोतिविन्दुको शल्यक्रिया गर्ने तयारी गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाले बताए । ‘अब प्रतिष्ठानमा आँखा विभाग स्थापना भइसकेकोले नियमित शल्यक्रिया सेवा प्रवाह हुनेछ,’ उनले भने ।
शिविरमा ६ सय जनाको आँखा परीक्षण, ११७ जना रेफर
प्रकाशित मिति : २०८१ भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस