किन स्थगित भएकाे थियाे दिक्षान्त समाराेह ? यस्ताे छ कारण

जुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीकाे अस्वस्थताका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे प्रथम दिक्षान्त समाराेह राेकिएकाे खुलेकाे छ । भदाै २३ गते हुने भनिएकाे प्रथम दिक्षान्त समाराेह अन्तिम समयमा प्रधानमन्त्रीले स्थगित गर्न लगाएका थिए ।

प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री शर्माले आफ्नाे स्वास्थ्य खराबीका कारण आराम गर्नु पर्ने भएकाेले दिक्षान्त कार्यक्रम राेक्न लगाएका थिए । दिक्षान्त समाराेह स्थगितपछि चर्काे आलाेचना समेत भयाे । तर साेमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्रीकाे अस्वस्थताका कारण दिक्षान्त समाराेह स्थगित भएकाे जानकारी दिएकाे छ ।

प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले २२ गते राती प्रधानमन्त्री स्वयमले फाेन गरेर अस्वस्थताका कारण उपस्थिती हुन नसक्ने भनेपछि २३ गतेका लागि तयारी भएकाे दिक्षान्त राेकिएकाे बताए । चिकित्सककाे सल्लाहनुसार आराम गर्नु पर्ने भएकाेले दिक्षान्त राेक्नु पर्याे भनेपछि राेकिएकाे हाे ।

प्रधानमन्त्री आफैले ताेकेकाे मितिनुसार आगामी कार्तिक २८ गते प्रतिष्ठानकाे दिक्षान्त समाराेह हुने रजिष्टार महतले कर्णाली मिसनलाई जानकारी दिए । साथै दिक्षान्तकाे तयारीमा कराेडाै खर्च भएकाे भनेर आएका हल्ला सबै निराधार भएकाे उल्लेख गरे । ४/५ जनाकाे हवाई टिकट बाहेक अरु कुनै खर्च भएकाे छैन् ।

रजिष्टार महतले भने,’तयारीमा कुनै खर्च भएकाे छैन् । दिक्षित हुन आएका विद्यार्थी फर्किनु परेकाेमा हामी पनि दुखित छाै ।तयारी दिक्षान्तका लागि मात्र नभई आँखा विभागकाे उद्घाटन गर्न पनि थियाे ।’ संसदमा माननियहरुले प्रधानमन्त्रीले कर्णालीलाई हेपेकाे भनिएपनि प्रधानमन्त्री ओलीकै कारण जुम्लामा स्नातक तहका विभिन्न कार्यक्रम आएकाे समेत रजिष्टार महतकाे भनाई छ ।

प्रकाशित मिति : २०८१ भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस