जुम्ला । साविक कर्णालीको लाईफ लाईन मानिएको कर्णाली राजमार्ग स्तरोन्नति हुन नसक्दा मृत्युमार्गका रुपमा कहलिएको छ । संचालन भएका करिब दुई दशक बितिसक्दा पनि राजमार्ग भरपर्दो नहुँदा सयौले ज्यान गुमाई सकेका छन् । हजारौ घाईते अपांग भएका छन् । हरेक वर्खामा जाने निरन्तरको बाढी पहिरोले राजमार्ग क्षतविक्षत भएको छ ।
एक लेनको सडक त्यसमाथि पहिरै पहिरोले साँघुरिदै जाँदा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । राज्यकै उपेक्षाका कारण राजमार्ग स्तरबृद्धि नहुँदा मृत्युमार्गको उपनाम पाएको कर्णाली राजमार्गमा बितेको नौ वर्षमा मात्रै झण्डै एक हजार नागरिकको ज्यान गईसकेको छ ।
कर्णालीको जनजीवन संग जोडिएको एकमात्र राष्ट्यि राजमार्ग भएपनि संघिय सरकार हरेक वर्षको बजेटमा उपेक्षा गरेकै कारण राजमार्गको दुरावस्था भएको हो । राजमार्ग स्तरोन्नतिको लागि ठोस नीति र बजेट नभएकै कारण राजमार्गको दुरावस्था,पुराना सवारी मात्रै गुड्ने,गैरजिम्मेवार चालककै कारण कर्णाली राजमार्गमा एक हजारले ज्यान गुमाएको सरकारी तथ्यांक छ ।
आर्थिक वर्ष २०७१÷२०७२ देखि २०७९÷२०८० सम्मको तथ्यांकलाई मात्र हेर्दा कर्णाली राजमार्गमा सवारी दुर्घटनाबाट नौ सय ९१ जनाको मृत्यु भएको पाइएको छ । यो नौ वर्षको अवधिमा एक हजार आठ सय २१ सवारी दुर्घटना भएका छन् । जसबाट ९९१ जनाल ज्यान गुमाएका छन् । भने १५ सय २७ जना घाईते भएका छन् ।
बर्षामा हिलाम्य र हिउँदमा धुलाम्य यो राजमार्गमा यात्रा गर्नुको पीडा र बाध्यता शब्दमा व्यक्त गरेर सम्भव छैनन् । विहान सकुशल गाडी चढेको मान्छे धुलो धुवाँले विरामी भएर झर्नु पर्ने बाध्यता कायमै छ । जुम्ला, डोल्पा, मुगु, कालिकोट, अछाम र दैलेखवासीले राजमार्गमा मोल्दै आएको जोखिमलाई राज्यले नजर अन्दाज गर्दा सयौ नागरिक राजमार्गको शिकार बन्न पुगेका छन् । साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण यात्रुले बर्सेनि सास्ती खेप्दै आएका छन् ।
राजमार्गलाई दुई लेनको बनाउन चट्टानी भाग छिचोल्न सकेमा जोखिम र दुर्घटना कम हुने देखिन्छ । तर त्यसमा संघिय सरकारको ध्यान छैन् । नौ वर्षमा एक हजार कर्णालीबासीको ज्यान गईसक्दा पनि राज्य सडक सुधारमा गम्भीर नबेको सांसद बिनिता कठायत बताउँछन् ।
त्यस्तै सांसद ज्ञानेन्द्र शाही भन्छन,‘राजमार्गकै दुरावस्थाले जुम्लाको स्याउ कुहिएको छ । किसानलाई सम्मान गर्नुपर्नेमा ठाउँठाउँमा लागु औषधजस्तै स्याउ चेक गरेर हैरान छ । राजमार्ग सुधारमा कहिले ध्यान पुग्ने ? कहिले सम्म अकालमै मर्नु पर्ने हो ?’
कुन वर्ष कतिले अकालमा गुमाए ज्यान ?
कर्णाली राजमार्गमा हुने सड़क दुर्घटनाले बर्सेनि सयांै यात्रुले अकालमा ज्यान गुमाउनु परेको छ । सरकारी तथ्यांकअनुसार नौ वर्षमा नौ सय ९१ जनाको मृत्यु भएको छ । भने एक हजार पाँच सय २७ जना गम्भीर घाइते भएका छन् । कर्णाली प्रदेश ट्राफिक कार्यालय सुर्खेतका अनुसार आव २०७१÷२०७२ मा सवारी दुर्घटनामा परी एक सय ३९ जनाको मृत्युु भएको थियो । गम्भीर घाइते हुनेको संख्या एक सय ७२ रहेको छ । सवारी दुर्घटनामा परेको जम्मा संख्या एक सय ३९ रहेको थियो ।
त्यस्तै आव २०७२÷०७३ मा ७६ वटा सवारी दुघर्टना हुदाँ ५६ जनाको मृत्यु, आव २०७३÷०७४ मा एक सय एक वटा सवारी दुर्घटना हुँदा एक सय १७ जनाले ज्यान गुमाएका थिए । आव २०७४÷०७५ ८८ वटा सवारी दुर्घटनामा परी ९१ जनाको मृत्य,आव २०७५÷०७६ मा एक सय ४६ वटा सवारी दुर्घटना हुदाँ एक सय १९ जनाको मृत्यु, आव२०७६÷०७७ मा दुई सय ३६ सवारी दुर्टना हुँदा मृत्यु हुनेको संख्या ९७ जना रहेको छ ।
आव २०७७÷०७८ मा दुई सय ९१ वटा सवारी दुर्घटनामा परेकोमा ९८ जनाको ज्यान गयो । आव २०७८÷०७९ मा सबैभन्दा धेरै चार सय तीनवटा सवारी दुघर्टना एक सय ८० जनाको मृत्यु भएको थियो । भने,आव२०७९÷०८० मा तीन सय ४१ सवारी दुर्घटना हँुदा ९४ जनाले ज्यान गुमाएका थिए । तथ्यांकलाई हेर्दा समय बित्दै जाँदा राजमार्गमा दुर्घटना बढ्दै गएको देखिन्छ ।
यो हिसाबले राजमार्गका सुधार निकै आबश्यक देखिएको छ । पछिल्लो वर्षमा बेमौसमी वर्षा हुने बाढी पहिरोले राजमार्गमा क्षति गरी दुर्घटनाको जोखिम बढ्ने भएकोले राजमार्गलाई स्तरोन्नती गर्न सबैको पहलमा बजेट व्यवस्थापन गर्नु पर्ने सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताए । उनका अनुसार सिमित स्रोतकै कारण राजमार्गको स्तरबृद्धिमा समस्या भएको छ ।