पातारासीको लुम स्थित पक्की निर्माण स्थल । तस्बिरः कर्णाली मिसन
जुम्ला । सम्झौता गरेको १० महिना बितेपछि जुम्लामा बल्ल दुई वटा पक्की पूलको निर्माण सुरु भएको छ । दुर्गम गाउँ बस्तीलाई यातायातको पहुँच विस्तार गर्न प्रदेश सरकारको करोडौ लगानीमा निर्माण हुने पक्की पूल ठेकेदारकै ढिलासुस्तीले सम्झौताको १० महिना बितिसकेपछि बल्ल निर्माण सुरु भएको हो ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तरर्गत पूर्वाधार विकास कार्यालय जुम्लाले जिल्लाको पातारासी गाउँपालिका वडा नं. ६ को लुममा र कनकासुन्दरी गाउँपालिकाको वडा नं. १ को न्याउरीघाटमा पक्की पूल बनाउन ठेक्का खोलेको थियो ।
कुल ११ करोड १८ लाख लागतमा निर्माण हुने लुम र न्याउरीघाट पुल निर्माण गर्ने ठेक्का (एएनसी÷एमएनएस÷जेएमएस÷ जेभी) काठमाडौंले पायो । ठेक्का पाएको कम्पन्नीले पूल निर्माणको जिम्मेवारी पूल सम्बन्धि अनुभव नभएका जुम्लाका निर्माण व्यवसायी तुल्सी रावतलाई दियो ।
सामान्य सडक,पर्खाला,नाला निर्माण गरिरहेका निर्माण व्यवसायी पूल बनाउने जिम्मा लिन पनि तयार भए । तर पूल निर्माण गर्नु,सामाग्री व्यवस्थापन गर्नु,प्राविधिक जनशक्ति बन्दोबस्त गर्नु उनलाई फलामको चिउरा चपाउनु जस्तै भयो । जसले सामान्य संचारना हरु मात्रै बनाउदैँ आएका थिए उनलाई पूल जस्तो संवेदनशील संरचना बनाउने जिम्मा भने निर्माण कम्पन्नीले थम्याएपछि निल्नु र ओकल्नु जस्तै बनेको छ । जसका कारण निर्माणमा ढिलाई भएको हो ।
दुबै पूल निर्माणका लागि २०८१ जेठ गतनै सम्झौता भएको थियो । निर्माण व्यवसायीकै ढिला सुस्तीका कारण सम्झौता भएको लामो समय बित्दा समेत निर्माण कार्य सुरु नभएपछि स्थानीय आक्रोसित समेत थिए । तर कार्यालयले समयमै निर्माणको अनुमति नदिँदा र हिउँदमा सिमेन्टको काम गर्न नपाईने कारणले ढिलो भएको निर्माण व्यवसायी तुल्सी रावतले बताए ।

उनले भने,‘भदौ महिनातिर कार्यालयमा पटक पटक साँदा साईट नदिएको र दशै तिहारमा काम भएन् । मंसिर १५ पछि चिसोले सिमेन्टको काम हुन सकेन् । चाहेर पनि सम्झौता लगत्तै काम सुरु गर्न सकिएन् । अब तिब्र गतिमा काम अघि बढाउँछौ ।’
कार्यालयको प्रक्रियागत ढिलाई,मौसम प्रतिकुलता र भौगोलिक कठिनाईले ढिलो हुन गएको कुरालाई स्वीकार गर्दै मेसिन,जनशक्ति र निर्माण सामाग्री सहित दुबै पूल निर्माणका लागि फिल्डमा खटिएको ठेकेदारका रूपमा रहेका तुलसी रावतको तर्क छ । पूल सम्पन्न कसरी गर्ने होला भन्ने चिन्ता भने उनको मनमा देखिन्छ । तर स्टमेट अनुसारकै गुणस्तर पूल बनाएरै छाड्ने उनको दाबी छ ।
पातारासी गाउँपालिका–६ स्थित लुममा पाँच करोड ६४ लाख लागतमा र कनकासुन्दरी गाउँपालिका–१ को न्याउरीघाटमा पाँच करोड ५४ लाख लागतमा कूल ११ करोड १८ लाख लगानीमा पूल निर्माण हुने छन् । दुई पूल निर्माणको ठेक्क एउटै निर्माण कम्पन्नीले पाएपनि जिल्लामा पूल निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी भरपर्दो नहुँदा काम विलम्ब भएको पूर्वाधार कार्यालयको बुझाई छ ।
पूर्वाधार विकास कार्यालय सूचना अधिकारी दत्त बहादुर बुढ्थापा भन्छन,‘पूल बनाउने कुरा सामान्य होईन् । निकै संवेदनशील भएर बनाउनुपर्छ । तर ठेकेदारलाई ईन्जिनियर ल्याउनुहोस् सबै बुझाएर काम गर्न अनुमति दिन्छौ भन्दा ईन्जिनियरनै ल्याउन सकेनन् । केही महिना त्यसरीनै बित्यो । हामीले हचुवामा निर्माणको अनुमति दिने कुरा पनि भएन् । जसका कारण पूल निर्माण ढिलाई भएको हो । मुख्यगरी पूल निर्माणको अनुभवनै नभएको निर्माण व्यवसायीसंग काम गर्नुपर्ने भएकोले समस्या निम्तीएको हो ।’

साथै कार्यालय प्रमुख फेरिएपछि पनि निर्माण कार्य प्रभावित भएको देखिन्छ । तत्कालीन कार्यालय प्रमुख प्रभाकर प्रसाद सिंहको सरुवा भईसकेको र नयाँ कार्यालय प्रमुख आउन ढिलाइ भएपछि त्यसको प्रभाव समेत पूल निर्माणमा परेको सूचना अधिकारी बुढ्थापाले जानकारी दिए ।
यदपी समयवधी धेरै बाँकी रहेको र पटक पटक ताकेता गरी सबै कुरा बुझाएर पठाएको र अहिले पूलको दुबै साईटमा खन्ने काम सुरु भएको छ । कस्तो सामाग्री प्रयोग गर्ने ? कति मात्रा गर्ने ? सिमेन्ट बालुवाको मात्रा कसरी मिलाउने जस्ता कुरामा निकै ध्यान दिनु पर्ने भएकोले त्यस विषयमा ठेकेदारलाई कुनै ज्ञान नभएको अबस्था प्रत्यक्ष निगरानीमा पूल निर्माण गर्नुपर्ने स्थिती आएको छ ।
सम्झौताको १० महिना ढिला निर्माण सुरु गरेको उक्त पूल निर्धारित समयमा सम्पन्न नहुने निश्चित जस्तै देखिएको छ । यदपी सम्झौतामा तीन वर्षभित्र सम्पन्न गरिसक्ने उल्लेख छ । काठेपूलबाट जोखिमपूर्ण यात्रा गरिरहेका पातारासी तथा कनकासुन्दरीका स्थानीयहरु भने ढिलै भएपनि पूल निर्माण सुरु भएपछि उत्साहित भएका छन् । निर्धारित समयमै र गुणस्तरीय पूल बन्नु पर्नेमा स्थानीयको जोड छ ।
यो पनि पढ्नुहोस्…
यो पनि पढ्नुहोस्…



