२० करोड लगानीका ५ पक्की पूलः २ वटा सम्पन्न,नयाँ ३ पूल निर्माण हुँदै

जुम्ला । जुम्लाका दुर्गम बस्तीमा यातायातको पहुँच विस्तारका लागि पूर्वाधार विकास कार्यालय जुम्लाले पक्की पूल निर्माणमा जोड दिएको छ । स्थानीयतह संचालनपछि गाउँ गाउँमा सडक पुगेपनि पूल नहुँदा प्रयोग विहिन बनेका सडकमा गाडी गुडाउन र नागरिकको दैनिकीलाई सहज बनाउन पूल निर्माणमा कार्यालयले जोड दिएको हो ।

जिल्लाका विभिन्न ठाउँमा निर्माण हुने गरी तीन वटा पूलको ठेक्का खोलिएको छ । भने दुई वटा पक्की पूल निर्माण भईसकेको छ । पूर्वाधार विकास कार्यालय जुम्लाको विवरणनुसार कनकासुन्दरीलाई सदरमुकामसंग जोड्ने भैसेडी पूल निर्माण सम्पन्न भई संचालनमा आएको छ । गुठिचौरका ग्रामिण बस्ती जोड्ने पक्की पूल अन्तिम चरणमा पुगेको छ ।

साथै पातारासीको लुम,कनकासुन्दरीको न्याउरीघाट र हिमा गाउँपालिकाको मोफ्ला जोड्ने पूल निर्माणका लागि ठेक्का खोलिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकर प्रसाद सिंहले बताए । उनका अनुसार नयाँ निर्माण हुने ३ वटा र निर्माण भईसकेका २ वटा पूल निर्माणका लागि झण्डै २० करोड ७ लाखबढी बजेट खर्च हुने भएको छ ।

जसमा २०७९ असार २९ गते सम्झौता भई निर्माण सुरु भएको कनकासुन्दरीको भैँसेडी पुल निर्माण सम्पन्न भई संचालनमा आएको छ । उक्त पूल निर्माणका लागि ४ करोड ३२ लाख ६३ हजार रुपैया खर्च भएको थियो । ३० मिटर लम्बाइको उक्त पुल निर्माणपछि कनकासुन्दरीबासीलाई आवतजावतमा सहज भएको छ ।

निर्माण सम्पन्न भई संचालनमा आएकाे छ कनकासुन्दरीकाे भैैसेडी पक्की पूल । तस्बिर: कर्णाली मिसन ।

भने प्रसिद्ध कनकासुन्दरी मन्दिरको दर्शन गर्न आउनेलाई समेत सहज हुने भएको छ । पुल निर्माणपछि कनकासुन्दरी जुम्ला सदरमुकामसंग समेत जोडिएको छ ।

कनकासुन्दरी ४ का वडाध्यक्ष धनमानसिंहले भैसेडी पक्की पूल निर्माणपछि दुर्गम साहुबाडा, धोबीघाट, चौकी, मुसेधान्नी, तली लेकपोर, माझगाउँ लेकपोर, कोट लगायतका गाउँका नागरिकलाई सदरमुकाम आउन जान समेत सहज हुने बताए ।

उक्त पूल हुदैँ बजार आउन निकै छोटो पर्ने भएपनि बीचको खण्डमा बजेट अभावले सडक निर्माण हुन सकेको छैन् ।
त्यस्तै,जुम्ला र डोल्पा जोड्ने सडक खण्ड अन्तरर्गत गुठिचौरमा पनि पक्की पूल निर्माणको ९८ प्रतिशत काम सकिएको छ ।

३ करोड ७६ लाख ३५ हजार लागतमा निर्माण भएको उक्त पूलले गुठिचौरका दुर्गम वस्तीलाई समेत यातायातमा जोड्न टेवा पुग्ने छ । कार्यालयका अनुसार २५ मिटरको सो पुल ९८ प्रतिशत काम सम्पन्न भइसकेकाले सुचारु गर्ने तयारी छ ।

जिल्लाका पातारासी,कनकासुन्दरी र हिमाका दुर्गम वस्तीमा सहज यातायात पहुँच विस्तार गर्ने उदेश्यले नयाँ तीन वटा पूल निर्माणका लागि ठेक्का लगाइएको छ ।

जसमा हिमा गाउँपालिका वडा नंं ३ को मोफ्ला लगायतका दुर्गम गाउँलाई राजमार्गमा जोड्न ९० लाख लगानीमा मोटरेबल बेलिब्रिज बन्ने गरी ठेक्का आह्वान भईसकेको छ । कर्णाली प्रदेश सरकारले भर्खरै स्रोत सुनिश्चित गरेपछि उक्त पूल निर्माण प्रक्रिया अघि बढेको हो ।

हिमाकाे माेफ्ला जाेड्ने बेलिब्रिज निर्माण स्थल । तस्बिर: कर्णाली मिसन

यता कनकासुन्दरी गाउँपालिका वडा नं. १ को न्याउरीघाटमा २५ मिटर लामो पक्की पूल बन्ने छ । उक्त पूल निर्माणका लागि ५ करोड ४५ लाख बजेटको ठेक्का भई निर्माण कम्पन्नीसंग सम्झौता समेत भईसकेको छ । भने उता पातारासी गाउँपालिकाको लुममा पनि पक्की पूल निर्माण प्रक्रिया अघि बढेको छ ।

पूलको काठेपूलबाट केही महिना अघि एकजना मोटरसाईल सहित खसेर मृत्यु भएको थियो । जग्गा विवाद टुंगीएपछि ४० मिटर लामो पक्की पूल निर्माण हुने भएको छ । लुममा पूल निर्माणका लागि ५ करोड ६४ लाखको टेण्डर आह्वान भएको छ ।

लुम पक्की पूल निर्माण स्थल । तस्बिर: कर्णाली मिसन ।

लुम र न्याउरीगाड पुल एउटै निर्माण कम्पन्नी (एमएस–एनएस–एमएनएस–एमसी) जेभीले जिम्मा पाएको छ । जिल्लाका दुर्गम वस्ती जोड्ने मनसायले पक्की पूल बनाउन पूर्वाधार विकास कार्यालयले ठेक्का आह्वान गरी सम्झौता गरेपनि ठेकेदारले काम सुरु गर्न ढिलाई गरेका छन् । लुम र न्याउरीघाट पूलको सम्झौता गत असारमै भएपनि ठेकेदारले ढिलासुस्ती गर्दा काम अघि बढेको छैन् ।

यदपी ठाउँ ठाउँमा करोडौ लगानीका मोटरेबल पूल निर्माण हुने भएपछि जुम्लाका किसानहरु उत्साहित छन् । गाउँमा सडक पुगेपनि पूल नहुँदा सडक मात्र प्रयोग विहिन बनेका छ्रैनन् । उत्पादित कृषि वस्तु समेत गाउँमै थन्कीएका छन् । पुल निर्माण भएपछि गाउँको उत्पादनले बजार पाउने र पिठ्यूमै भारी बोक्ने बाध्यता हट्ने अपेक्षा गरिएको यूवा उद्यमी गोपाल रोकाया बताउँछन् ।

उनका अनुसार पूल निर्माण निर्धारित समयमै सम्पन्न गर्न र संरचना गुणस्तर बनाउन नियमित अनुगमन तथा निरिक्षणको काममा ध्यान दिन जरुरी छ ।

न्याउरीघाट पक्की पूल निर्माण स्थल । तस्बिर: कर्णाली मिसन ।

यता पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकर प्रसाद सिंह जिल्लाका विभिन्न ठाउँमा नयाँ निर्माण हुने पूलको कामलाई अघि बढाउन ठेकेदारलाई ताकेता दिएको बताउँछन् । ‘भैसेडी पूल संचालनमा आईसकेको छ । गुठिचौर पूल सुचारु गर्ने तयारी छ ।’

उनले भने,‘न्याउरीघाट र लुम पूलको काम ठेकेदारको कारण केही बिलम्ब भएपनि काम भईरहेको छ । भने उता हिमाको मोफ्ला पूलको भर्खर ठेक्का खोलेका छौ । सबै ठाउँमा निर्धारित समयमै संचारना बनाउने गरी हाम्रो प्रयास रहन्छ ।’

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस