
जुम्ला । नेपालकाे उत्कृष्ट पर्यटकीय गन्तव्य मुगु जिल्ला स्थित रारा ताल जाने पर्यटकीय मार्ग नाग्म-गमगडी सडक कालाेपत्रे गर्न संघिय सरकारलाई माग गरिएकाे छ ।
सडक संचालनकाे डेढ दशक समय भईसक्दा पनि अझै हिमाम्य र धुलाम्य रहेकाेले आगामी आर्थिक वर्षमा सडक कालाेपत्रे गर्नका लागि माग गरिएकाे हाे ।
नाग्मदेखि मुगु गमगडि सम्म ९३ किलाेमिटर दुरी रहेकाे नाग्म-गमगडी सडक बजेट अभावले स्तराेन्नति नहुँदा रारा पुग्ने पर्यटक र दैनिक आवत-जावत गर्ने नागरिकले सास्ती पाएका छन् ।
सडक संचालन भएकाे डेढ दशक बितिसक्दा पनि कालाेपत्रे नभएपछि रारा आउने पर्यटक र नागरिकले पाएकाे सास्तीलाई मध्यनजर गर्दै जुम्ला निर्वाच क्षेत्र (ख)बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाईले नाग्म-गमगडी सडक कालाेपत्रेकाे याेजना वार्षिक नीति कार्यक्रम र बजेटमा समावेेश गर्न माग गरेका छन् ।
अर्थमन्त्री विष्णु पाैडेललाई भेटेेर प्रदेश सभा सदस्य पछाईले नाग्म-गमगडी सडक कालाेपत्रे याेजना आगामी आर्थिक वर्ष २०८२/०८३ काे वार्षिक बजेटमा समावेश गरिदिन माग गसेका हुन् ।

९३ किमी दुरीकाे उक्त सडककाे ६ किमी सडक डेढ दशकपछि कालाेपत्रे भएपनि ८७ किमी सडक अझै हिलाम्य र धुलाम्य रहेकाेले संघिय सरकारलाई पुरै सडक कालाेपत्रे गर्ने याेजना समावेश गर्न माग गरेकाे प्रदेश सभा सदस्य टेकराज पछाईले बताए ।
रारा जाने सडक मार्ग भरपर्दाे नभएका कारण पर्यटकहरुले मात्र सास्ती पाएका छैनन् । पटक पटक भएका सवारी दुर्घटनाले धेरैकाे ज्यान समेत गईसकेकाे छ । हिउँदमा हिलाे र वर्खामा हिलाे हुने समस्याले यात्रा कष्टकर हुने गरेकाे गुनासाे बढेपछि आगामी आवकाे बजेटमा सडक कालाेपत्रेकाे याेजना समावेशका लागि अर्थमन्त्रीकाे ध्यानकर्षण गराएकाे प्रदेश सभा सदस्य पछाईकाे भनाई छ ।
नाग्म-गमगडी सडककाे जिराे प्वाईन्टबाट कालाेपत्रे हुनु पर्ने हाे । उनले भने,’तर गत वर्ष भएकाे ६ किमी कालाेपत्रे बीचमा मात्रै भएकाे छ । अब सुरुवाती विन्दुबाटै कालाेपत्रे गर्नु पर्ने र बहुवर्षिय आयाेजनाका रुपमा नाग्म-गमगडी सडककाे कालाेपत्रे याेजनालाई अघि बढाउन आबश्यक छ ।’
पटक पटक नाग्म-गमगडी सडककाे स्तराेन्नतिका विषयमा माग गरेपनि सरकारले निरन्तर उपेक्षा गर्दै आएकाे छ । हरेक वर्षकाे बार्षिक नीतिमा प्रथामिकता दिएपनि नाग्म-गमगडी सडक,कर्णाली राजमार्गलाई सरकारले उपेक्षा गर्दै आएकाे छ । जसले गर्दा कर्णालीमा आएका पर्यटकहरुले सास्ती मात्र पाएका छैनन् । कर्णालीकाे उत्पादनले उचित बजार पाउन सकेकाे छैन् ।
कर्णालीकाे आर्थिक समृद्धि,राेजगारी सृजनाकाे मुख्य आधार पर्यटन क्षेत्र भएपनि पूर्वाधार अभावले अपेक्षित लाभ लिन नसकेकाे स्थिती छ ।
रारा तालकाे उचित प्रर्वद्दन तथा सडक पूर्वाधार निर्माण,हाेटल बास व्यवस्थापन,अतिथी सत्कार लगायतका क्षेत्रमा लगानी बढाएमा सरकारकाे आर्थिक बृद्दि र राेजगारी सृजनामा टेवा पुग्ने सम्भावना छ ।
तर नाग्म-गमगडी सडक सुधार नभएकै कारण रारा पुग्ने हरेक पर्यटकले राज्यकाे आलाेचना गर्ने गरेका छन् । केही समय अघि जुम्लाहुँदै रारा पुगेका एमाले नेता गाेकुल बास्काेटाले पनि कर्णालीमा राराताल,चनदननाथ,सिंजा उपत्यका,गिडिदह जस्ता सम्भावना भएपनि गतिलाे नेता नभएकाे र राज्यलाई दबाब नपुगेका कारण सम्भावना भएर कर्णालीले गरिबकाे परिचय पाएकाे बताएका थिए ।
डेढ दशकमा ६ किमी कालाेपत्रे
नाग्म-गमगडी सडक संचालन सञ्चालनको करिब डेढ दशकपछि कालोपत्रे भएको हो । कुल ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगडी सडकको ६ किमि कालोपत्रे भएको हो ।
नेपाली सेनाले ट्रयाक खोलेर २०६५/०६६ सालदेखि सञ्चालनमा आएको नाग्म–गमगडी सडक डेढ दशकपछि ६ किलोमिटर सडक कालोपत्रे भएको छ ।
नाग्म–गमगडी सडकअन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका क्षेत्रमा पर्ने कनकासुन्दरी–७ रोकायाबाडा गाउँदेखि वडा नं. २ बोतागाउँसम्म ६ किमि सडक कालोपत्रे भइरहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।
६किमी सडक कालाेपत्रे गर्न छुट्टै बजेट नआएकाे र महावु हुँदै नाग्म–गमगडी सडक निर्माणको ठेक्काअन्तर्गत ३५ करोड लगानीभित्र ६ किमि सडक कालोपत्रे भएकाे उल्लेख गरे । रोकायाबाडा, गुरुचौर, गोठिज्युला हुँदै हाँटसिंजासम्म कालोपत्रे भइसकेको छ । कालोपत्रेदेखि नाग्म–गमगडी सडकको अन्य निर्माणको ठेक्का (थोदुङ बासना जेभी) निर्माण कम्पनीले कालाेपत्रे गरेकाे थियाे ।

जुम्लाबाट निर्वाचित सांसदहरूले नाग्म–गमगडी सडकलाई कालोपत्रे गर्ने भन्दै बाचा गरे पनि पर्याप्त बजेट भने हालसम्म आउन सकेको छैन । सडक डिभिजनले महावु–नाग्म–गमगडी सडक स्तरोन्नति अन्तर्गतको बजेटबाट यो वर्ष ६ किमि सडक कालोपत्रे गरिरहेको छ । ३२ किमि रोकायाबाडादेखि ३८ किमि बोतासम्म बीचको ६ किमि कालोपत्रे गरिएकाे छ ।
९३ किमी दुरीकाे सडकमा ६ किमी दुरी कालापत्रे हुँदा नागरिक खुसी छन् । उक्त खण्डमा सरर यात्रा गरेपछि आनन्द महसुश गरेका नागरिकहरु अरु विकास छाेडेर नाग्म-गमगडी सडक पुरै पिच हुनु पर्ने कनकासुन्दरीका स्थानीय दिपेन्द्र उपाध्यायकाे माग छ।
६ किमी सडक बाहेक अन्य खण्ड स्तरवृद्धि नहुँदा धुलाे र हिलाेेले सास्ती पाएका पर्यटकहरु कालोपत्रे भएको सडक खण्डमा रोकिएर फोटोसमेत खिचाउँछन् ।
भने कर्णाली राजमार्गको जोखिम मोलेर रारा नजिक पुग्ने बेला कालोत्रपे दुई लेनको सडक देख्दा सबै पर्यटक मख्ख छन् । नाग्म–गमगडी सडकको प्रस्थान विन्दुबाटै कालोपत्रे हुनुपर्ने सुझाव छ ।