जुम्लाको चन्दननाथ नगरपालिकामा रोपिएको कोदो । तस्बिरः सागर परियार
जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला भाषा सांस्कृति,पर्यटन संगै कृषिमा पनि प्रचुर सम्भावना भएको जिल्ला हो । यहाँ स्याउ,सिमि कोदो फापर चिनो कागुनो लगायत रैथाने बाली उत्पादन हुने गर्छ । स्वास्थ्यका दृष्टीले पोषणयुक्त र स्वादिलो मानिने कोदोको उत्पादन भने घट्दै गएको छ ।
जुम्लाका आठै स्थानीयतहमा कोदो खेती हुन्छ । तर विगतको तुलनामा भने क्रमिक रुपमा घट्दै गएको छ । सडकको विस्तारसंगै घरघरमा आयातित चामल पुग्न थालेपछि किसान रैथाने कोदो लगायतका अन्न बाली रोप्न समेत छोडेका छन् ।
जुम्लाका ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले दुर्लभ बन्दै गएको छ । अहिले किसान स्याउ तर्फ आर्कषित हुँदा कोदो खेती लोप हुदै गएको हो ।
कोदो फल्ने बारी थलिएको छ । घाँस र पातपतिंगर जस्ता झारले बारी भरिएको छ । तातोपानी गाउँपालिका वडा नं. २ का किसान दत्त बुढाले विगतको तुलनामा अरु बाली भन्दा कोदो हराउदैँ गएको बताए । अहिले कोदोको पिठो नौली खाने (कहिले काही खाने) पनि पाउन मुस्किल परेको छ । उनले भने,‘म पनि कृषिमै निर्भर छु । धान,जौ,कोदो फापर मुख्य उत्पादन हुन । तर विगतमा ३÷४ बोरी उत्पादन हुने कोदो अहिले घटेको छ । अहिले प्रायः कोदो रोप्ने खेत बारीमा तरकारी खेती र स्याउका विरुवा छन् ।’
अन्य बाली नाली फलफूलको खेती गर्नु हुदैन् भन्ने होईन तर एउटा बाली लोप हुने गरेर सबै अर्को तर्फ केन्द्रित उचित होईन । कोदो खेती विस्तारका लागि स्थानीय सरकारले कार्यक्रम चलाउनु पर्ने उनको भनाई छ । सिंजा गाउँपालिका–५ सुरबहादुर बुढाले करिब दश वर्षअघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी मात्रै उत्पादन हुने गरेको बताए ।
कोदो प्रायः बलौटे माटोमा उत्पादन हुन्छ । जहाँ बालुवा,ढुंगा र माटो मिश्रित जग्गामा बढी उत्पादन हुने कोदो अहिले लोप हुनुमा अव्यस्थित सडक निर्माण पनि मुख्य कारण रहेको छ । प्रायः खेत बारी आसपासबाट सडक निर्माण भएको हरेक वर्षा याममा आउने बाढी पहिरोले भिरालो क्षेत्रमा रहेको कोदो खेती गर्ने जमिन कटान गर्दै लिँदा पनि कोदो खेती लोप हुदैँ गएको स्थानीय किसान बुढाले उल्लेख गरे ।
जुम्लामा दुई प्ररकारका कोदो उत्पादन हुन्छ,(रातो र कालो ) । तुलनात्मक रुपमा रातो कोदो स्वादिष्ट हुन्छ । रातो कोदोको पिठाको रोटीले शरिर अपच हुँदा पखला लाग्दा समेत ढिडो बनाएर खाँदा निको हुन्छ । तर कोदोको महत्वअनुसार मुल्य र उचित बजारीकरण नहुँदा पनि किसान कोदो खेतीबाट पछि हटेका हुन् ।
स्थानीय तह,अन्य गैरसरकारी निकायले अनुदान सेवा सुविधा दिँदा कित मार्सी धानमा दिने,कि स्याउमा दिने तर तर निकै महत्व मानिएको कोदोको उत्पादन बृद्धि र खेती विस्तारमा कुनै सहयोग तथा प्रोत्साहन नपाउँदा पनि किसान कोदो खेती गर्न छोडेको स्थानीय किसान दानबहादुर बुढाले बताए ।

जुम्लाका आठ स्थानीयतह मध्य सबैभन्दा बढी कोदो उत्पादन हुने क्षेत्र,पातारासी,तिला र तातोपानी हुन् । विशेषगरी तिला र पातारासीका किसान विगतमा चामल संग कोदो र सिमि साट्थे । कुनै बेला चामल संग कोदो साट्ने गरी उत्पादन हुने कोदो अहिले लोप हुनु दुखद पक्ष भएको तिला–८ का स्थानीय धनलाल बस्नेतले बताए । उनका अनुसार कोदो खेती विस्तारका लागि कृषिमा काम गर्ने संस्थादेखी स्थानीय सरकारले ध्यान दिन जरुरी छ ।
कोदोबाट फाईने भिटामिन र यसका फाईदाबारे गाउँ गाउँमा सचेतना दिएर पनि खेती विस्तार गर्न आबश्यक रहेको छ । जुम्लामा अहिले पनि करिब १४ हजार हेक्टर जमिन बाँझो छ । बाँझो रहेको जमिनमा व्यवसायीक कोदो खेती गर्ने र ईच्छुक किसानलाई अनुदानको व्यवस्था गर्ने खालको नीति ल्याउनु पर्नेमा जुम्लाका बरिष्ठ किसान रामकृष्ण बुढ्थापाले बताए ।
उनले भने,‘कोदोको बहुआयामिक फाईदा छन् । कोदोको पिठा मानव स्वस्थ्यका लागि आबश्यक छ । भने कोदोको नल्ठा (तलको डाँठ) पशु चौपायका लागि निकै राम्रो आहारा हो । स्वाँदमा गुलियो हुने भएकोले पशु चौपाय कोदो नललाई सारै रुचाउँछन् । महत्व हुँदा हुदै कोदो संकटमा पर्नु दुखद कूरा हो । मैले स्याउ बगैचाको केही बारीमा नियमित कोदो खेती गर्दै आएको छु ।’
विकासक्रम संगै गाउँ घरमा कोदोको खेती घट्दै गएपनि बजारमा यसको माग बढ्दै गएको अबस्था छ । ठुला ठुला होटमा कोदोको ढिडोको मेन्यू राखिएको हुन्छ । तर ग्रामिण भेगमा त्यसको उत्पादन घट्दै गएको छ । गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि शहरका होटल केही स्कुलले भने कोदोको परिकारलाई नै आकर्षणको रूपमा राख्न थालेका छन् । होटेलमा आउने पाहुनाहरूले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेको जुम्लाका होटल सञ्चालकहरू बताउँछन् ।

गाउँगाउँमा स–साना सञ्चालित होटलहरूमा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । जुम्लामा कोदो पिठो प्रतिकेजी मुल्य १ सय ५० रुपैयाँ छ । खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने स्वास्थ्यकर्मीहरू बताउँछन्। चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिने चिकित्सकहरूको भनाइ छ।
कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायत तत्वहरू पाइने ज्यामरुककोट शनिगाउँ स्वास्थ्य चौकीका चिकित्सक रमेश रावलले बताए । उनका अनुसार तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उनको भनाइ छ ।
जुम्लामा आर्थिक वर्ष २०७७÷०७८ मा ३ हजार ८ सय ४० हेक्टरमा कोदो खेती भइरहेको थियो । पछिल्लो वर्ष घटेर ३ हजार ७ हेक्टर क्षेत्रफलमा मात्रै कोदो खेती भईरहेको छ जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । कृषि विकास कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार अन्य बालीजस्तै कोदोको खेती विस्तारमा छुटै नीति र बजेट आउने गरेको छैन् ।



