जातीय विभेद मुद्धाका फरार प्रतिवादी पूर्व वडाअध्यक्षका छोरा पक्राउ

जुम्ला । जातीय विभेदको मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ परेका छन् । जातीय विभेद गरेको कसुरमा उच्च अदालत सुर्खेत,जुम्ला इजालासले दोषी ठहर गरेका सिञ्जा गाउँपालिका वडा नंं ६ का नवीन बुढा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डीयसपी छेदीलाल कामतीका अनुसार बुढालाई उनको घरबाट पक्राउ गरिएको हो ।

सोही वडाका विवेन्द्र नेपालीले तत्कालीन वडाअध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नवीन बुढाविरूद्व जातीय विभेद गरेको आरोपमा जिल्ला प्रहरी कायर्यालय जुम्लामा २०७८ असार २६ गतेमुद्दा दर्ता गरेका थिए ।सिन्जा–६ का तत्कालीन वडाअध्यक्ष कालीबहादुर बुढालाई जिल्ला अदालत जुम्लाले उन्मुक्ति दियो । उनका छोरा नवीन बुढालाई भने चार महिना कैद र २० हजार जरिवाना र २५ क्षतिपूर्ति पीडितलाई दिने फैसला गरेको थियो ।

वडाअध्यक्ष बुढालाई अदालतले उन्मुक्ति दिएपछि नेपाली दुवैजनालाई कारबाही माग गर्दै उच्चमा गएका थिए । उच्चमा २०७८ साउन २७ गते मुद्वा दर्ता गरेको थियो । उच्च अदालतले २०८० जेष्ठ १८ गते उक्त मुद्वामा फैसला गर्दै नवीन बुढालाई तीन महिना बीस दिन र २० हजार जरिवाना कैद सुनाएको थियो ।

उनी अदालतको फैसला लगत्तै फरार रहेका थिए । लामो समय फरार रहेका उनलाई पक्राउ गरेर अदालतमा पेस गरिएको कामतीको भनाइ छ । बुढा पक्राउ परेपछि आफूले न्याय पाएको महशुस भएको नेपालीले प्रतिक्रिया दिएका छन् । जातीय विभेद तथा सजाय कसुर ऐन २०६८ अनुसार जातका आधारमा गरिने कुनैपनि विभेद कानुन अनुसार दण्डनीय मानिने उल्लेख गरिएको छ । बुढालााई कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : २०८१ असोज २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस