जुम्लाका चन्दननाथ र सिंजा एकैदिन साक्षर पालिका घोषणा

चन्दननाथका ९८ र सिंजाका ९६ प्रतिशत नागरिक साक्षर

जुम्ला । जुम्लाका दुई स्थानीयतहलाई एकैदिन साक्षर घोषणा गरिएको छ । जुम्लाको एकमात्र चन्दननाथ नगरपालिका र सिंजा गाउँपालिकालाई बुधवार शिक्षा दिवसका अबसरमा साक्षर पालिका घोषणा गरिएको हो । चन्दननाथ नगरपालिकालाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम घण्डारीले साक्षर नगर घोषणा गरे । भने सिंजालाई गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले साक्षर घोषणा गरेका छन् ।

५० प्रतिशत सूचक पुरा भएपछि साक्षर पालिका घोषणा गर्न मिल्ने प्रावधाननुसार जुम्लामा धमाधम साक्षर पालिका घोषणा भईरहेका छन् । जनगणना २०७८ को तथ्यांकले साक्षरदर न्युन देखाएपनि पालिकाले आफै गरेको सर्वेक्षणको रिर्पोटलाई आधार मान्दै धमाधम साक्षर पालिका घोषणा भईरहेको पाइएको छ ।

जसमा जुम्लाको चन्दननाथ नगरपालिकाको साक्षरता दर ९८.९१ प्रतिशत पुगेपछि बुधबार साक्षर नगर घोषणा गरिएको चन्दननाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले बताए । उनका अनुसार नगरपालिकामा रहेको कूल जनसंख्या २१ हजार ३६ जनामध्य ९८ प्रतिशत साक्षर भईसकेका छन् । नगपालिकाले गत साउनमा १५ वर्षमाथि र ६० वर्ष मुनिका जनसख्ंयामा सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने ३८० जना भेटिएको र उनिहरुलाइ साक्षर बनाएसंगै नगरलाईनै साक्षर घोषणा गरिएको हो ।

उनले भने,‘साक्षर पालिका घोषणा गर्न १२ वटा सूचक तोकिएको छ । तर नगरपालिकाले ८ वटा सूचक पुरा गरीसकेको छ । जसमा सामान्य लेखपढ गर्न जान्ने,हस्ताक्षर गर्ने,मोबाईल चलाउन जान्ने लगायतका सूचक रहेका छन् । साक्षर नगर घोषणा हुनु अघि साक्षरता कक्षा समेत चलाइएको थियो ।’

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जुम्लाले शिक्षा क्षेत्रमा उल्लेखीय कार्य गर्दै आएको बताए । साक्षर कर्णाली प्रदेश बनाउने अभियानमा जुम्लाको भुमिका अग्रणी हुने समेत उल्लेख गरे । जिल्ला समन्वय समितिका प्रमुख गैरीन्द आर्चाय,मेयर राजुसिंह कठायत,उपमेयर रामदेवी खड्काले साक्षर घोषणालाई प्रभावकारी कार्यान्वयनमा जोड दिन सबैले साथ दिनु पर्ने उल्लेख गरे ।

उता सिंजा गाउँपालिकामा पनि ९६ प्रतिशत नागरिक साक्षरत भएपछि बुधबार सिंजालाई साक्षर पालिका घोषणा गरिएको छ । सिंजाको कूल जनसंख्याको ९६.५ प्रतिशत नागरिक साक्षर भएको सुनिश्चत भएपछि साक्षर घोषणा गरिएको सिंजाका शिक्षा शाखा प्रमुख शंकर धितालले बताए ।

उनले भने,‘जनगणनानुसार सिंजाको साक्षर दर ६८ प्रतिशत छ । तर हामीले वडागत रुपमा तथ्यांक संकलन गरी । बालबालिकाद्धारा आफ्ना अभिभावक साक्षर बनाउने अभियान थालेर १२ वटा सूचक मध्य ५ सूचक पुराएपछि साक्षर पालिका घोषणा गरेका हौ ।’

हस्ताक्षर गर्ने,सामान्य लेखपढ,मोबाईल चलाउन सक्ने,आफ्नो भावना व्यक्त गर्न सक्ने सहित ५ वटा सूचक पूरा भएपछि हामीले साक्षर पालिका घोषणा गरिएको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए । सिंजालाई शिक्षा क्षेत्रमा जिल्लाकै अब्बल बनाईने छ ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस