बाढी पहिरोले जुम्ला–कालिकोट खण्डमा १० करोडको क्षति

जुम्ला– बाढी पहिरोले कालिकोट–जुम्ला सडकमा १० करोडको क्षति भएको छ । यो वर्ष मनसुन सक्रिय भएसँगै आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । साना ठूला पहिरो गरेर असार यता १ सय ३७ पटक सडक अवरुद्ध भएको छ । बाढी पहिरोले सडक अवरुद्ध मात्र नभई सडकमा बनेका पूर्वाधार नै बगाएपछि ठूलो क्षति भएको हो ।

स्याउ ढुवानीकै सिजनमा सडक अवरुद्ध हुँदा करोडौंको स्याउ कुहिएको थियो भने ठाउँ ठाउँमा ढुंगासहितको बाढी आउँदा राजमार्गको अवस्था नाजुक बनाएको छ । सडक डिभिजन जुम्लाको प्रारम्भिक अनुमानअनुसार अविरल वर्षापछि आएको बाढी पहिरोले कर्णाली राजमार्गको जुम्ला–कालिकोट खण्डमा मात्रै १० करोड बढीको क्षति भएको छ ।

२३२ किलोमिटर दुरी रहेको कर्णाली राजमार्गको दैखोलादेखि जुम्लासम्म १०४ किमी सडक सडक डिभिजन जुम्लाको कार्य क्षेत्रमा पर्छ । जुम्ला–कालिकोट खण्डको १०४ किमी दुरीभित्र असार यता अविरल वर्षापछि पटक पटक आएको बाढीले अनुमानित १० करोड जतिको क्षति गरेको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताए । वर्षा हुने र बाढी पहिरो जाने क्रम अझै जारी छ ।

उनले भने, ‘दैखोला–हुल्म, गगनेखोला, मोल्फा,एसमोड हुँदै जुम्लाका विभिन्न भागमा आएको पहिरोले क्षति गरेको छ । क्षतिको यकिन अझै हुन सकेको छैन । हालसम्म अनुमानित १० करोडको क्षति भए पनि अझै बढ्ने निश्चित छ ।’ राजमार्गको जुम्ला–कालिकोट खण्डमा भौगोलिक विकटता र कठिनाइ बढी रहेको छ । यस क्षेत्रमा स्थानीय तहले मापदण्ड विपरीत ग्रामीण सडक निर्माण गरेकोले पनि राजमार्गमा पहिरो बढी आउने गरेको छ ।

पटक पटक गगने खोलामा आएको पहिरोले मात्रै करोडौंको क्षति पुर्‍याएको छ । सबैभन्दा बढी क्षति भदौ १२ गते आएको पहिरोले दैखोलाको पक्की पुल र गगनेखोलाको सडक बगाएर भएको हो । त्यसपछि मात्रै गगनेखोलामा तीन पटक पहिरो आइसकेको छ । जसका कारण गगने खोलामा झन्डै २ करोड लगातमा निर्माण ग्याबिन पर्खाल पूरै भत्किएको हो ।

सडक डिभिजन जुम्लाले उपलब्ध स्रोत साधन र जनशक्ति प्रयोग गरेर सडक विभागदेखि हेवी इक्युपमेन्ट कार्यालय नेपालगन्जसँग सहकार्य गरेर पहिरो पन्छाउन तदारुकता देखाए पनि स्तरोन्नतिमा बजेट व्यवस्थापनमा सकस भएको छ । ०७९ सालको असोजमा आएको बाढीले राजमार्ग २० दिन पूर्ण रूपमा बन्द भएको थियो । त्यतिबेला क्षति भई स्तरोन्नतिको कामअघि बढाए पनि ठेकेदारको ढिलासुस्तीले काम हुन सकेन् ।

पुन: आएको पहिरोले सडक क्षतविक्षत भई सकेको छ । वर्षा रोकिएपछि स्तरोन्नतिका लागि बजेट माग गर्ने तयारी गरेको डिभिजन प्रमुख मण्डलले बताए । बाढी पहिरोले मात्रै पछिल्लो ३ वर्षमा कर्णाली राजमार्गमा करिब ७० करोड खर्च भएको देखिन्छ । गत वर्ष २२ करोड, २०७९–८० मा २५ करोड र २०७८–७९ मा २३ करोड नियमित बजेटबाट मर्मत सम्भारबापत खर्च भएको थियो ।

यद्यपि असार यता हालसम्म पहिरो पन्छाउन मात्रै करिब ४० लाख खर्च भई सकेको सडक डिभिजन जुम्लाले जनाकारी दिएको छ । सांसद विनिता कठायतदेखि ज्ञानेन्द्र शाहीले संसद्मा राजमार्ग सुधारको जोडदार आवाज उठाए पनि सरकारले निरन्तर उपेक्षा गर्दै आएको छ । जसका कारण कर्णाली वासी उक्त सडकमा भगवान् भरोसामा यात्रा गर्न बाध्य छन् ।

नौ वर्षको अवधिमा मात्रै कर्णाली राजमार्गमा सवारी दुर्घटनाबाट करिब एक हजार जनाले अकालमै ज्यान गुमाई सकेका छन् । दुई दिन पूर्ण रूपमा अवरुद्ध भएर शुक्रबारबाट सडक खुले पनि राजमार्गको गगनेखोला, एसमोड, हुल्म, सेरिघाट, सुनार खोला, गल्ली, मोल्फा, पिली, चौखोला, खल्लागाड, राचुलीलगायतका ठाउँमा सडकको अवस्था नाजुक छ । धेरै ठाउँमा पहिले आएकोभन्दा ठूलो पहिरो खसेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस