खलंगामा १६ करोड बढी रुपियाँको भेडाखसीको करोबार

जुम्ला – जुम्लाको सदरमुकाम खलंगा बजारमा मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपियाँ बराबरको भेडाखसी विक्रीवितरण भएका छन् । चन्दननाथ नगरपालिका पशुपंक्षी शाखा प्रमुख बीरबहादुर रावलका अनुसार स्थानीय तथा बाहिर जिल्लाबाट ल्याइएका गरेर ७ हजार ९ सय २८ भेडा बिक्री भएका हुन् । जसबाट १६ करोड ३२ लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो ।
१५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा भैसीहरु खरिद बिक्री भए । ४ सय ८७ खसी, ३ वटा राँगो र ८२ वटा भैसीको किनबेच भएको शाखा प्रमुख रावलको भनाइ छ । स्थानीय भेडाको अधिकतम मुल्य २८ हजार, न्युनतम मुल्य १० हजार भएकोमा औसत मुल्य १९ हजार तोकिएको थियो । ढोरले भेडाको अधिकतम मल्य ३७ हजार र न्युनतम मुल्य २० हजार रहेकोमा औषत मुल्य २८ हजार ५ सय तोकिएको थियो ।
जुम्ली खसीको अधितम मुल्य २४ हजार र न्युनतम मुल्य ८ हजार थियो । औसतमा १६ हजारमा बिक्री भएको थियो । अधिकतम मुल्य ५० हजार र न्युनतम मुल्य २६ हजारमा किनबेच भइरहेका राँगा भैसीको औसच मुल्य ३८ हजार थियो ।
२०६८ सालदेखि तिब्बती भेडा च्यांग्रा ल्याउन छोडेपछि जुम्ली भेडाखसी मात्रै विक्रीवितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जुम्लामा ८८ हजार भेडा छन् ।
संघीयतापछि स्थानीय तहको मुकाममा पनि भेडाखसीको कारोबार हुने गरेको छ । कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघु लगायतका साना बजारमा समेत भेडाखसीको करोबार हुने गरेको छ ।

प्रकाशित मिति : २०८१ असोज २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस