जाजरकाेटकाे ‘माैला मेला’ सम्पन्न,संस्कृति संरक्षणमा जाेड

जाजरकोट । ‘डियर कर्णाली’ को आयोजनामा जाजरकोटको समृद्धि, सांस्कृतिक र ऐतिहासिक विरासतलाई उजागर गर्दै ३ दिने मौला मेला- २०८१ भेरी नगरपालिका- ७ जाजरकोटमा डियर कर्णालीका संस्थापक अध्यक्ष सन्तोष नेपाली ‘मान्ठ’ को अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त मेलामा सांस्कृतिक नृत्य, वक्तृत्वकला, भलिबल र घैटो फोर तथा विभिन्न स्थानीय संस्कृती झल्काउने नाचहरु र प्रदर्शनी जस्ता कार्यक्रमहरु राखिएको थियो भने कार्यक्रमको प्रमुख अथितिका रुपमा भेरी नगरपालिका ७ का वडा अध्यक्ष दिपबहादुर शाही हुनुहुन्थ्यो ।

“जाजरकोटको कला र संस्कृतिको पहिचान, सम्झाउँछ वीरताको इतिहास” भन्ने शिर्षकमा गरिएको यस कार्यक्रमले जिल्लाको अद्वितीय सांस्कृतिक धरोहर र वीरताको गौरवलाई उजागर गर्नमा सहयोग पुर्‍याएको छ ।

वक्तृत्वकला प्रतियोगितामा सहभागीले जाजरकोटको ऐतिहासिक महत्त्व, यहाँका वीर योद्धाहरूको योगदान, र मौलिक संस्कृतिको संरक्षणको आवश्यकता माथि धाराप्रवाह मन्तव्य प्रस्तुत गरे । प्रतियोगितामा वक्ताहरूले जाजरकोटको सांस्कृतिक पहिचानलाई जोगाउने अभियानमा सबैको सामूहिक प्रयास अपरिहार्य भएकोमा जोड दिए भने सांस्कृतिक नृत्य कार्यक्रममा स्थानीय कलाकारहरूले जाजरकोटको परम्परागत नृत्य प्रस्तुत गर्दै दर्शकलाई मोहित पारे ।

मौलिक पहिरनमा सजिएर प्रस्तुत गरिएका पश्चिमी नेपाली लोक नृत्य र गीतहरूले कार्यक्रममा ऐतिहासिक झल्को दिएको थियो । नृत्यले जाजरकोटको जीवनशैली, रहनसहन, र संस्कृति प्रतिविम्बित गर्दै कर्णाली क्षेत्रको सांस्कृतिक विविधतालाई उजागर गर्‍यो ।

उक्त कार्यक्रमलाई विधिवत रुपमा लिन संचालकको भुमिकामा डियर कर्णालीका सक्रिय ब्यक्ति महेन्द्र बिश्वकर्मा थिए ।

कार्यक्रमका अध्यक्ष मान्ठले आफ्नो सम्बोधनमा जाजरकोटको कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउँदै आगामी पुस्तालाई यसको महत्त्व बुझाउन यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाउदै कार्यक्रम सु- सम्पन्नको चरणसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

समग्रमा यो कार्यक्रमले जाजरकोटको सांस्कृतिक गौरवलाई राष्ट्रिय रूपमा उजागर गर्नमा सहयोग पुर्‍याएको छ, जसले स्थानीय समुदायमा एकता र गर्वको भावना फैलाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस