जुम्ला – राष्ट्रिय स्वतन्त्र पाटी जुम्लाले पाटी सभापति रवि लामिछानेकाे रिहाईकाे माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
संसदीय छानवीन समितिले दिएको प्रतिवेदनअनुसार वास्तविक सहकारी ठगी गर्ने व्यक्तिलाई खोजविन पश्चात कारवाही गर्न माग गरेकाे रास्वापा जिल्ला सभापति मक्कर भण्डारीले बताए ।
जनताको रकम फिर्ता दिलाउनु पर्ने दायित्वबाट विमुख भई सहकारीबाट रकम अपचलनमा संलग्न नभएको किटान हुदाहुदै जनताले आशा गरेका नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्ने गरिएकाे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ ।
ध्यानाकर्षण पत्रमा भनिएकाे छ, राजनीतिक प्रतिशोधका आधारमा गरिएको राज्य आतंक बन्द गरि निर्दोष पार्टी सभापित रवि लामिछानेलाई तत्काल रिहा गरियोस । ८७ अर्ब रकम भन्दा बढी सहकारीको रकम अपचलन र मिटरब्याजीहरुको खोजबिन गरि कानुन बमोजिम कारबाही गरियोस् ।
साथै सहकारी पिडित र मिटरब्याजी पिडितहरुको समस्या समधानको निम्ती जिल्ला प्रसाशन कार्यालयमा हेल्पडेक्स तत्काल सुरु गरियोस । वास्तविक सहकारी ठग धनराज गुरुङ, ऋषीकेश पोखरेल लगायतलाई सहकारी ठगीमा हदैसम्मको कारवही गरी सहकारी पिडितको रकम तुरुन्त फिर्ता गरियोस् ।
बॉसबारी जग्गा, टिकापुर जग्गा प्रकरण साथै ललितानिवास प्रकरणका दोषी उपर निष्पक्ष छानबिन गरि कारबाही गरियोस् । भुटानी शरणार्थी काण्डको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाही गरियोस् ।सतासीन दल नेकपा एमाले र ललितानिवास प्रकरणका दोषी व्यापारी मीन ब. गुरुङ बिचको जग्गा दान मार्फल भ्रष्टाचारजन्य अपराधको छानबिन गरियोस् ।
२०४६ साल पछिका सम्पूर्ण भ्रष्टाचारजन्य अपराधको छुट्टै सेल खड़ा गरेर छानबिन गरी दोषिलाई हदैसम्मको कारवाही गरियोस् ।



