सिञ्जा सभ्यता विद्येयक लेखनमा ज्ञानेन्द्र शाहीको कुनै भुमिका छैनः भण्डारी

जुम्ला । नेकपा माओबादी केन्द्र जुम्लाका ईन्चार्ज नरेश भण्डारीले सिञ्जा सभ्यता संरक्षण तथा विकास विद्येयक लेखनमा राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीको कुनै भुमिका नरहेको बताएका छन् । विद्येयक लेखनमा शाहीको कुनै भुमिका नरहेको र झुटको खेती गरेको भण्डारीले बताएका हुन् ।

सांसद ज्ञानेन्द्र शाहीले कार्तिक १० गते कनकासुन्दरीमा आयोजित आमसभालाई संबोधन गर्दै सिञ्जा सभ्यता संरक्षण तथा विकास विद्येयक आफुले पनि लेखेको दाबी गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्तासमेत रहेका शाहीले जनसभामा सम्बोधन गर्दै सिञ्जा विधेयक मैले लेखेको हो । मैले र नरेश जिले लेख्या हो । फेसबुकमा म देखाइदिन सक्छु । सहयोग माग्नु भएको थियो मसँग । धन्यवाद भने मैले लेखेर पनि पठाएको उल्लेख गरेका थिए ।

साथै उक्त विद्येयकमा थुप्रै त्रुटिहरु समेत रहेको र धामीका घाँटी काट्नेले बनाउने होइन । हिजो दुल्लु र सिञ्जाका मन्दिरमा बम हानिएको होइन । अहिले नामो निशाना छैन भन्दै टिप्पणी गरेका थिए ।

मंगलबार सामाजिक संजाल फेशबुक मार्फत खण्डन गर्दै भण्डारीले भनेका छन,‘२०७८ असोज ९ गते कर्णाली प्रदेश सभा सचिवालयमा बिधेयक दर्ता गर्नु १ दिन अगाडी अन्य सरोकारवालालाई पठाएझैं अभियान्ता र सिंजाबासी भएको हिसाबले ज्ञानेन्द्र शाहीलाई सुझावका लागि मेलमा बिधेयक पठाएको र धन्यवाद भनेर मेलको रिप्लाई बाहेक कुनै सुझाव नआएको समेत भण्डारीले स्पष्ट पारेका छन् ।’

धन्यवादलाई बिधेयक लेखेको अर्थमा ग्रहण गर्ने हो भने तपाइको दाबीलाई सत्य ठान्नु पर्ने व्यग्य गरेका छन् । विद्येयकका मस्यौदाकार तथा माओबादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका भण्डारीले मंगलबार आफ्नो फेशबुक मार्फत सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिको खण्डन गरेका छन् । उनले भने,‘सिन्जा सभ्यता बिधेयक लगायतका विषयमा व्यक्त गरेका सफेद झुठप्रति ध्यानाकर्षण भएको छ । अनुनय बिनय गरेपनि सत्य सत्य नै हुन्छ, डग्मगाउँदैन । सम्झाउनु नपर्ला झुठको धरातल कमजोर हुन्छ, आयु छोटो हुन्छ ।’

नरेश भण्डारीको फेशबुक पोष्ट जस्ताको त्यस्तैः
कार्तिक १० गते जुम्लाको गोठीज्यूलामा राप्रपाद्वारा आयोजित जनसभामा लाजनै लजाउने गरी सत्यलाई ठाडै चुनौती दिदै जनता माझ तपाइले झुठका पुलिन्दा छताछुल्ल पार्नु भएछ । सिन्जा सभ्यता बिधेयक लगायतका विषयमा व्यक्त गरेका सफेद झुठप्रति ध्यानाकर्षण भएको छ । जुम्लाका लागि तपाइले गरेको कमजोर कार्य सम्पादनलाई ढाकछोप गर्न झुठको सहारा लिनु पर्ने बाध्यतालाई न सत्यले मान्यता दिन्छ न त जनताले । सत्यसँग जति अनुनय बिनय गरेपनि सत्य सत्य नै हुन्छ, डग्मगाउँदैन । सम्झाउनु नपर्ला झुठको धरातल कमजोर हुन्छ, आयु छोटो हुन्छ ।
झुठको पुलिन्दा भित्रको एउटा सवालका सम्बन्धमा प्रष्ट पार्न चाहन्छु –
आफुले समेत सिन्जा सभ्यता बिधेयक लेखेको दाबी पेश गर्दै बिधेयकलाई अगाडी बढाउन प्रचण्डको भुमिका नभएको आरोप लगाउदै विधेयक पारित गर्न तत्कालिन प्रधानमन्त्री प्रचण्ड कहाँ नगएर मेरो ढोकामा आउनु पथ्र्योको सामन्ती दम्भ ओकल्नु भएछ ।
प्रधानमन्त्री एवं अर्थमन्त्री हुदा अर्थ मन्त्रालयबाट सिन्जा बिधेयकलाई शैद्धान्तिक सहमति प्रदान गर्ने, कानुन मन्त्रीलाई निर्देशन गरेर कानुन मन्त्रालयको सहमति सुनिश्चित गराएर क्याविनेटबाट शैद्धान्तिक सहमति प्रदान गर्ने महत्वपूर्ण कार्य पूर्व प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले गर्नु भएको हो । जुन बास्तबिकतालाई खारेज गर्ने तपाइको दुस्प्रयत्न जुम्ली जनताका लागि अमान्य छ ।
बिधेयक पारित गर्न गरेको हाम्रो अनवरत संघर्षलाई बेहिच्किचाहट स्टण्टको संज्ञा दिन तपाई पछि पर्नु भएनछ । हाम्रो अभिष्ठ सस्तो लोकप्रियता नभई नीजि जीवनका खुसीको त्यागमा देश र जनताको मुक्ति थियो÷हो । जसको प्राप्तिका लागि कालको आँखामा आँखा जुझाउदै अगाडी बढ्यौं ÷बढ्नेछौं । जनप्रतिनिधि र राजनीतिकर्मीका रुपमा जुम्ली जनताको हितार्थ हामीले गरेका कार्यहरूको लेखाजोखा इतिहासले गर्ने नै छ ।
हेक्का होस, हाम्रै अवधारणाबाट निर्देशित भएर अधिबक्ता रत्नबहादुर बुढाको सहयोगमा बिधेयकको प्रारम्भिक मस्यौदा तयार भएको हो । बिधेयकको मस्यौदा लेखनमा तपाइको कुनै भुमिका छैन् ।
२०७८ असोज ९ गते अर्थात कर्णाली प्रदेश सभा सचिवालयमा बिधेयक दर्ता गर्नु १ दिन अगाडी अन्य सरोकारवालालाई पठाएझैं तपाई अभियान्ता हुदा सिन्जाको बासिन्दा भएकाले मैले सुझावका लागि मेलमा बिधेयक पठाएको थिएँ । तर, तपाइबाट धन्यवाद आयो, सुझाब आएन ।
धन्यवादलाई बिधेयक लेखेको अर्थमा ग्रहण गर्ने हो भने तपाइको दाबीलाई सत्य ठान्नु पर्ने हुन्छ अन्यथा …… !
बास्तविकता भन्दा कैयौं कोष टाढाबाट सत्यको दाबी गर्नु र असत्यको जगमा उभिएर प्रतिक्रिया दिनु क्षणिक आत्मरति शिवाय केही हुन सक्दैन ।
धामीका घाँटी काट्नेहरुले सभ्यताको संरक्षण गर्न सक्दैनन हामीले गर्छौं भन्ने दाबी समेत गरेको सुनेँ । पृथ्वीनारायण शाहको राज्य विस्तारको क्रममा बहादुर शाहको अगुवाइमा जुम्ला राज्यका सेनाहरु दशंैमा घर गएको समयमा आक्रमण गरेर जुम्ला राज्यलाई नामेट गरिए पश्चातका २१७ बर्ष भन्दा ज्यादा समय शासन गरेर –
सिन्जा सभ्यताको विकास र संरक्षणका लागि कानुनी व्यवस्था गर्न राजतन्त्रलाई कसले रोकेको हो ? कर्णालीलाई अघोषित नाकाबन्दी कसले लगायो ? सरकारी सेवामा प्रजिअको जिम्मेवारीबाट समेत बन्चित गरेर कर्णालीबासीलाई शासितको व्यवहार कसले गर्यो ? १२ बर्ष भन्दा माथिकालाई सफाया गर्न भक्ति थापालाई आदेश दिएर जुम्लीहरुको मेसेकार कसले गर्यो ? कब्जा गर्ने क्रममा जुम्ला राज्यको प्रतिनिधित्व गर्ने ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका बस्तुहरु कसले नष्ट गर्यो ? यहाँका नागरिकहरूले जबाफ खोजेका छन् ।
२०८४ प्रतिक्षारत छ !

विद्येयक बारे सांसद ज्ञानेन्द्र बहादुर शाहीले राखेको मन्तव्य हेर्न तलको लिंक थिच्नुहोला ।

https://fb.watch/vwhRgg97xr

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस