सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए

जुम्ला-सिंजा गाउँपालिकामा दुई दिने विशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविरमा ७२२ जनाले सेवा लिएका छन् । सिंजा गाउँपालिकाको आयोजना, प्लान नेपालको साँझेदारी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा दुई दिने विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
प्रतिष्ठानका अस्पताल निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा पुजन रोकायासहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली दुई दिने शिविरमा परिचालन भएको थियो ।
कार्तिक ३ गते सनिगाउ स्वास्थ्य चौकी र मंसिर १ गते नराकोट स्वास्थ्य चौकीमा गरी दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए ।
हाडजोर्नीका २०२ जना, स्त्री रोग सम्बन्धी ९५ जना, जनरल चेकजाँच १५० जना, मनोसामाजिक परामर्श १३० जना, अपाङ्गता परिक्षण ११० जना र मुखको जाँच ३५ जना गरी ७२२ जनाले शिविरमा सेवा लिएका हुन् ।
दुई दिने स्वास्थ्य शिविरमा अस्पतालमा रेफर गरी उपचार गर्नुपर्ने कुनै पनि विरामी नभेटिएको संयोजक रोकायाले बताए । उनले भने, शिविरमा सामान्य विरामी भेटिएका हुन् । उनीहरुलाई चिकित्सकले चेकजाँच गर्नुका साथै निशुल्क औषधि पनि वितरण गरिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया दिनुहोस