
जुम्ला – कनकासुन्दरी गाउँपालिकाको हाटसजा स्वास्थ्य चौकी र बुम्रमाडीचौर स्वास्थ्य चौकीमा आयोजित शिविरबाट ४८५ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा किर्डाक नेपाल र क्याड नेपालको सहकार्यमा मंसिर ११ र १२ गते क्रमशः हाडसजा स्वास्थ्य चौकी र बुम्रमाडीचौर स्वास्थ्य चौकीमा आयोजित शिविरबाट ४८५ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका विशेषज्ञ चिकित्सकहरुको टोलीले स्वास्थ्य शिविरमा विरामीको स्वास्थ्य परीक्षण गरेका हुन् ।
मंसिर ११ गते हाडसिंजा स्वास्थ्य चौकीमा आयोजित शिविरमा पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ, नाक, कान, घाँटी, दाँत, र गिजा रोगसम्बन्धी विशेषज्ञहरूले निःशुल्क स्वास्थ्य जाँच र उपचार सेवा प्रदान गरेको स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र प्रसाद उपाध्यायले बताए ।
उनका अनुसार २४० महिला र ७५ पुरुष, गरी जम्मा ३१५ जनाले सेवा लिएका थिए । शिविरमा महिलाको पाठेघर र स्तन क्यान्सरको जाँचमा विशेष ध्यान दिइएको थियो ।
कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उपाध्यायले गाउँपालिकाका अन्य वडामा पनि यस्ता कार्यक्रम विस्तार गर्दै स्वास्थ्य सेवा सहज र सुलभ बनाउन प्रयास गरिने बताए । “हाम्रो उद्देश्य समुदायलाई घरदैलोमै स्वास्थ्य सेवा पु¥याउनु हो,” उनले भने।
विशेषज्ञहरूको उपस्थितिमा गरिएको उक्त शिविरको प्रदेश सभा सदस्य टेकराज पछाइले उद्घाटन गरेका थिए। “ग्रामीण भेगका महिलाहरूका लागि क्यान्सरजस्ता गम्भीर रोगको प्रारम्भिक पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु,” उनले भने ।
मंसिर १२ गते शिविरको दोस्रो दिन कनकासुन्दरी–१ बुम्रमाडीचौर स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरबाट १२५ महिला र ४५ पुरुष, गरी १७० जनाले सेवा लिए । त्यहाँ पनि नाक, कान, घाँटी, दाँत तथा महिलाका लागि विशेष क्यान्सर स्क्रिनिङ सेवा प्रदान गरिएको कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष दमोदर आचार्यले बताए ।
उनका स्थानीय बासिन्दाले शिविरको व्यवस्थापनप्रति खुसी व्यक्त गर्दै भविष्यमा यस्ता कार्यक्रम थप आयोजना गर्न आग्रह गरेका थिए ।
उनले थपे, “ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अभावका कारण नियमित परीक्षण र उपचार गर्न नपाउने समस्यालाई समाधान गर्न यस्ता शिविरले ठूलो सहयोग पु¥याउने छ ।”