जुम्लाका बालविवाह घट्दो, नौँ वडा मुक्त घोषणा

जुम्ला : जुम्लाका ६० वटा वडामध्ये ९ वडा बालविवाह मुक्त घोषणा भएका छन् । बालविवाह विरुद्धको साँझ अभियान संजाल जुम्लाले शनिबार जिल्लामा पत्रकार भेटघाट कार्यक्रममा मार्फत यो तथ्यांक सार्वजनिक गरेको हो ।
बालविवाह विरुद्धको साँझ अभियान संजाल जुम्लाका संयोजक मानदत्त रावलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार सिंजा गाउँपालिकाको विगत ४ वर्षको तथ्यांक अनुसार सन् २०२० मा ७९ प्रतिशत, २०२१ मा ७३ प्रतिशत, २०२२ मा ४८ प्रतिशत र २०२३ मा २६ प्रतिशत बालविवाह गर्ने तथ्यांक रहेको छ ।
कनकासुन्दरी गाउँपालिकामा सन् २०२० मा ५८ प्रतिशत, २०२१ मा ६० प्रतिशत, २०२२ मा २५ प्रतिशत र २०२३ मा १३ प्रतिशत बालविवाह गर्नेको तथ्यांक छ । यस्तै हिमा गाउँपालिकामा सन् २०२० मा ७६ प्रतिशत, ०२१ मा ७० प्रतिशत, २०२२ मा २५ प्रतिशत र २०२३ मा २२ प्रतिशत बालविवाह गर्नेको तथ्यांक रहेको संजालका संयोजक रावलले विज्ञप्तिमार्फ जानकारी गरेका छन् ।
सवै स्थानीय तहका महिला बालबालिका शाखाले सरोकारवाला निकाय गैरसरकारी संस्थासँग समन्वय सहकार्य गरी बालविवाह न्यूनिकरण गर्नका लागि सचेतामुलक क्रियाकलाप सञ्चालन गर्दै आएका छन् । पातारासी गाउँपालिमा पछिल्लो एक वर्षको अवधिमा ७० जोडी विवाह गरेको तथ्यांक छ । यस मध्ये ६० जोडीले उमेर पुगेर विवाह गरेका छन् भने १० जोडीले उमेर नपुगी विवाह गर्ने गरेका छन् ।

तातोपानी गाउँपालिकामा १५ वटा बालविवाहका घटना भएपनि धेरैजसो उमेर नपुगी विवाह भएको जोडीको विवाह रोकिएको छ । सम्झाई बुझाई अभिभावकको जिम्मा लिएको छ । चन्दननाथ नगरपालिकामा गतवर्ष ६ वटा र यस आर्थिक वर्षमा २ वटा बालविवाह रोकिएका छन् । उमेर नपुगी विवाह गर्ने जोडीलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाउने काम भएको छ । बालविवाह मुक्त वडा घोषणा हुनेमा कनकासुन्दरी गाउँपालिका– ४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिंजा गाउँपालिका – २, ४ र ६, हिमा गाउँपालिका–१ रहेको बाल विवाह विरुद्धको साँझ अभियान संजाल जुम्लाले विज्ञप्तिमार्फत जानकारी गरेको छ । उमेरले २० वर्ष नपुगी बालविवाह गर्ने गराउनेलाई तीनदेखि पाँच वर्षसम्म कैद सजाय र ३० हजार रुपियाँसम्म जरिबाना भराउने कानुनी प्रावधान रहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस