जुम्ला – पातारासी गाउँपालिकामा सडक नाटकमार्फत बालविवाह र घरेलुहिंसा न्यूनिकरण सम्वन्धी सन्देश प्रवाह गरिएको छ । गाउँपालिकाको १ र २ नम्बर वडाका गाउँबस्तीमा सडक नाटकमार्फत बालविवाह र घरेलुहिंसा सम्वन्धी सन्देश प्रवाह गरिएको हो ।
स्थानीय तहसँग समन्वय गरी सर्बाेदय विकासका लागि अभियान नेपाल (सर्बाेदय नेपाल) जुम्लाको आयोजना र भुरिचुला मिडिया प्रालि जुम्लाको सहजीकरणमा सडक नाटकमार्फत बालविवाह र घरेलुहिंसा न्यूनिकरण सन्देश प्रवाह गरिएको हो ।
सानै उमेरमा प्रजनन् अंक परिपक्क नहुदै विवाह हुने, बच्चा जन्माउने, गाउँघरमा धेरै भारी काम गर्ने, पाठेघरमा समस्या देखिने, पुरुषले घर परिवार महिलाको काममा नसघाउने, मदिरा सेवन गर्ने कुटपिट घरेलुहिंसा गर्ने जस्ता समस्या सडक नाटकमार्फत देखिएको थियो ।
गाउँघरमा बालविवाह र घरेलुहिंसा जस्ता समस्या देखिएपछि कानुनी कारवाहीका लागि प्रहरीमा उजुरी गर्ने, कानुनी कारवाही गर्ने कुरा सडक नाटकमार्फत सन्देश प्रवाह गरिएको थियो । बालविवाह गर्दा तीन वर्ष कैद र ३० हजार रुपियाँ जरीवाना हुने पनि कानुनी प्रावधान रहेको नाटकमार्फत सचेतीकरण गरिएको सर्बाेदय नेपाल जुम्लाकी सामाजिक परिचालक रेविका सुनारले बताइन् । उनले भनिन् लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा बालविवाह र घरेलुहिंसा न्यूनिकरण गर्न चेतनामुलक सडक नाटकमार्फत सन्देश प्रवाह गरिएको हो । सडक नाटकका कलाकार पूर्णप्रसाद चौलागाई, राजकली महत, अर्जुन महतारालगायतको टिम रहेको थियो ।
यस्तै वडा नम्बर २ को वडाकार्यालयको प्राङ्गणमा स्थानीय महिलाले देउडा प्रस्तुति गरेका थिए । छुईप्रथा, बालविवाह, घरेलुहिंसा सम्वन्धी सन्देश प्रवाह गर्ने गरी महिलाले देउडा प्रस्तुति गरेका हुन् । ११ वटा महिला समुहले देउडा प्रस्तुति गरेका हुन् । प्रति महिला समुहलाई पुरस्कार स्वरुप १५ सय रुपियाँ प्रदान गरिएको सामाजिक परिचालक सुनारले बताइन् ।