जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्लामा यस वर्षको पहिलो हिमपात भएको छ । कर्णालीका जुम्ला सहित कालिकोट,मुगु,हुम्ला र डोल्पामा हिमपात भएको हो । सोमबार विहानैदेखि भएको मौसम बद्लीसंगै हिउँसोबाट कर्णालीका चार जिल्लामा हिमपात भएको छ ।
कालिकोट,मुगु हुम्ला र डोल्पामा बाक्लो हिउँ परेको छ । जुम्लाको उच्च भूभागमा हिउँ परेको छ । यदपी जुम्लाकै सिंजा क्षेत्रमा भने बाक्लो हिउँ परेको छ । हिमपातपछि ह्वात्तै चिसो बढेपछि कर्णालीको जनजीवन कष्टकर बनेको छ ।
यदपी यसवर्ष पहिलो भएको हिमपातले किसान भने उत्साहित भएका छन् । हिउँदे बाली जौ भर्खरै रोपेको जौलाई चाहिने आबश्यक सिँचाई हिउँले पुर्ति गर्ने भएकोले हिउँले कृषि क्षेत्रमा राहत पुराउने कृषि विज्ञ बताउँछन् ।
पहिलो हिमपातले चिसो बढेपनि कृषि क्षेत्रका लागि निकै राम्रो हुने जुम्लाका बरिष्ठ किसान रामकृष्ण बुढ्थापा बताउँछन् । उनी भन्छन,‘पछिल्ला वर्षमा हिउँ पर्न छोडेको छ । गतवर्ष समयमै हिउँ नपर्दा बालीनाली सप्रिन पाएन् । यो वर्ष मंसिरमै हिउँ पर्नु किसानका लागि खुसीको कुरा हो । अब उत्पादन बढ्ने अपेक्षा छ ।’
त्यस्तै,हिमा गाउँपालिकाका परिलाल विश्वकर्माले सिंजा क्षेत्रमा बाक्लो हिउँ परेको बताए । खेताली जग्गामा जौ रोपि सकेपनि लेकाली जग्गामा जौ रोप्ने काम जारी छ । अब हिउँ परेपछि थप सहज हुने अपेक्षा गरिएको उनको भनाई छ ।
हिउँदे बाली सप्रिन र उत्पादन बृद्धि हुनका लागि पुष माघमा अनिवार्य हिउँ पर्न जरुरी छ । तर पछिल्लो वर्षमा जलवायू परिवर्तनका कारण समयमै हिउँ पानी नपर्ने र कृषि क्षेत्रमा असर पर्नुका साथै उत्पादन समेत घट्दै गएको छ ।
भने हिमपातपछि कर्णालीमा सोमबार हवाई सेवा समेत अबरुद्ध भएको छ । हवाई सेवा अबरुद्ध भएपछि धेरै यात्रु विमानस्थलमै अलपत्र परेका छन् ।



