कर्णाली प्रतिष्ठानका करार कर्मचारी आन्दाेलित,सेवा ठप्पदेखि सामुहिक राजिनामाकाे चेतावनी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका करार कर्मचारी आन्दाेलित भएका छन् । आन्तरिक प्रतिस्पर्धाबाट व्यवस्थापन गर्नु पर्ने माग राख्दै करार कर्मचारीहरु शुक्रबारदेखि आन्दाेलित भएका हुन् ।

करिब ६/७ वर्षदेखि प्रतिष्ठानमा निरन्तर सेवा दिईरहेका करार नर्सिङ कर्मचारीहरुले आन्तरिक प्रतिस्पर्धाबाट व्यवस्थापन हुनु पर्ने भएपनि मंसिर २८ गते लाेक सेवा आयाेग मार्फत कर्णाली प्रतिष्ठानले खुला प्रतिस्प्रधाबाट पदपुर्ति गर्ने निर्णय भएपछि अनिश्चितकालिन आन्दाेलनकाे सुरुवात गरिएकाे आन्दाेलनरत कर्मचारी सरिता कुमारी बुढाले बताईन् ।

करार कर्मचारीहरुकाे हितका लागि आन्तरिक व्यवस्थापन हुनु पर्नेमा अनुभव सहित खुला प्रतिष्प्रर्धाबाट पदपुर्ति गर्ने निर्णय प्रति आपत्ती जनाउदैँ आन्दाेलन गरेकाे बुढाले उल्लेख गरिन् ।
म लामाे समयदेखि हाडजाेर्नी विभागमा कार्यरत छु ।

उनले भनिन,’केही वर्षअघि मैले लाेक सेवा आयाेगमा नाम निकालेकाे थिए । अन्तबार्तामा जानू पहिले प्रतिष्ठानले १५ लाख रुपैया दिनु पर्ने अडान राख्याे । पहिलाे चरण ६/७ लाख दिन्छु,बाँकि किस्तामा दिन्छु भनेपनि एकैमुष्ट १५ लाख दिनु पर्छ भनियाे । घुमाउराे तरिकाले मलाई बाहिर जान पाउदिनाै भनेर राेकियाे । अहिले लाेक सेवा लड्ने उमेर पनि गैईसक्याे । आन्तरिक व्यवस्थापन हुने आशामा वर्षाै बित्याे । हाल खुला प्रतियाेगिताकाे सूचना भएपछि भाेली हाम्राे ठाउँमा अरु आउँदा हामी कहाँ जाने ? त्यसैले करार कर्मचारीकाे आन्तरिक व्यवस्थपान हुनु पर्छ ।’

सरिता कुमारी बुढा जस्तै प्रतिष्ठानमा धेरै नर्सिङ कर्मचारी छन् । जसले काेराेना कालदेखि हाल सम्म प्रतिष्ठानमा अनवरत सेवा दिईरहेका छन् । तर आन्तरिक व्यवस्थापन नगरी खुला प्रतियाेगिताबाट कर्मचारी भर्ना गर्ने निर्णयकाे विराेधमा अनिश्चितकालिन आन्दाेलन गर्नु परेकाे आन्दाेलनरत कर्मचारी सितला राेकायाले बताईन् ।

प्रतिष्ठानमा झण्डै १०५ जना नर्सिङ कर्मचारीहरु  रहेका छन् । जसमध्य ४८ जनाले आन्तरिक व्यवस्थापन व्यवस्थापन हुनु पर्ने माग सहित उच्च अदालत सुर्खेत जुम्ला ईजालासमा रिट दर्ता गरेका थिए ।

उच्च अदालत सुर्खेत जुम्ला ईजलासका न्यायधिष कैलास गुरुङ र  श्याम जी प्रधानकाे संयुक्त ईजलासले मंसिर २७ गते प्रमाणिकरण भएकाे आदेशनुसार करार कर्मचारीकै पक्षमा फैसला गरेकाे छ । 

कर्मचारीकै पक्षमा फैसला भएपनि सुनियाेजित रुपमा प्रतिष्ठानका पदाधिकारीले लाेक सेवा आयाेग मार्फत खुला प्रतियाेगिताबाट नर्सिङ कर्मचारी भर्ना गर्ने निर्णयले करार कर्मचारीकाे याेगदान,क्षामता माथि लात हानिएकाे र पदाधिकारीले बेवास्ता गरेकाे समेत करार कर्मचारीहरकाे आराेप छ ।

विज्ञप्तीमा भनिएकाे छ,’बिना आधार र मापदण्ड विपरित गरिएकाे विभेदपूर्ण निर्णयले थप शंका पैदा गरेकाे छ । यस्ताे गैर जिम्मेवार पूर्ण निर्णयकाे शसक्त प्रतिबाद गर्न आन्दाेलनकाे घाेषणा गरेका हाै । अन्यथा उचित मागहरुकाे बेलेमैमा संबाेधन नगरि आलटाल भएमा विषय वस्तुकाे गम्भीरतालाई बेवास्ता गरिएमा उत्पन्न हुन सक्ने जस्ताे सुकै परिस्थितिकाे जिम्मेवार प्रतिष्ठान हुनुपर्छ ।’

केके छन् माग र आन्दाेलनका कार्यक्रम ?
आन्दाेलित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका करार नर्सिङ कर्मचारीहरुले आन्तरिक व्यवस्थापन हुनु पर्ने लगायतका विभिन्न माग राखेका छन् ।

सम्पुर्ण करार तथा ज्यालादारी कर्मचारीहरुकाे आन्तरिक व्यवस्थापन( आन्तरिक प्रतिष्पर्धा गराउनु पर्ने), करार तथा ज्यालादारी कर्मचारीकाे व्यवस्थापन नगरी खुला प्रक्रियाद्वारा कर्मचारी भर्ना गर्न नपाईने व्यवस्थापन गर्नु पर्ने माग राखिएकाे छ ।

भने माग पूरा नभएसम्म पेड डाउनदेखि सामुहिक राजिनामा दिने सम्मका आन्दाेलनका कार्यक्रम राखिएकाे छ ।
जसमा पुस ४ र ५ गते कालाेपट्टी बाधेर सेवा दिने,७ र ८ गते ईमरजेन्सी,आइसियू,एनआईसियू,प्रसुती विभाग बाहेक सबै सेवा ठप्प पार्ने आन्दाेलनका कार्यक्रम रहेका छन् ।

साथै अन्तिम समय सम्म पनि प्रतिष्ठानका पदाधिकारीले माग प्रति बेवास्ता गरेकाे खण्डमा सबै संवेदनशील क्षेत्र तथा सबै विभागमा पेन डाउन गर्ने र  अन्त्यमा सम्पुर्ण विभागका करार तथा ज्यालादारी कर्मचारीले सामुहिक राजिनामा दिने सम्मका आन्दाेलनका कार्यक्रम अघि सारेका छन् ।

प्रकाशित मिति : २०८१ पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस