जुम्ला । कर्णाली प्रदेश सरकारले प्रदेश भित्रको भौगोलिक विकटतालाई मध्यनजर गर्दै बहुवर्षिय आयोजनामा लगानी बढाउन थालेको छ । भौगोलिक रुपमा विकट बस्ती र जिल्लामा सडक,पुल लगायतका ठुला पूर्वाधार बनाउन बहुवर्षिय आयोजनामा लगानी बढाउन थालेको हो ।
भरपर्दो सडक र खोला नालामा पूल नभएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने वर्खाको बाढी पहिरोले बगाउने जस्ता समस्या भोगिरहेको साविक कर्णालीका कालिकोट,मुगु र हुम्ला लगायतका जिल्लामा चालु आवबाटै निर्माण हुने बहुवर्षिय आयोजनाको स्रोत सुनिश्चिता गर्दै प्रदेश सरकारले आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ ।
सुर्खेत,कालिकोट,मुगु र हुम्लामा तीन वर्षभित्र निर्माण हुने गरी ५ वटा बहुवर्षिय आयोजना निर्माणका लागि कर्णाली प्रदेश सरकारले बजेट सुनिश्चित गरेको छ । प्रदेश सरकारले पनि टुक्रे योजनालाई प्रथामिकता दिएको,ठुला आयोजनामा ध्यान नपुराएको भन्ने आलोचना खेपेको कर्णाली प्रदेश पछिल्ला वर्षमा बहुवर्षिय आयोजनाको सहमती स्रोत सुनिश्चता तथा निर्माण प्रक्रियामा विशेष चासो दिएको छ ।
प्रदेशको पुष १८ गतेको निर्णयनुसार मुगुमा दुई वटा बहुवर्षिय आयोजना स्वीकृत भएका छन् । जसमा मुगुको ताल्चा हुदैँ रारा सडक कालोपत्रे गर्नका लागि ९ करोड ८७ लाख ३५ हजार रुपैया विनियोजन भएको छ । यो आयोजना चालु आर्थिक वर्षबाटै सुरु भएर आगामी आव २०८३/८४ मा निर्माण सम्पन्न हुने छ ।
त्यस्तै नाक्चे लाग्ना नाका जोड्ने सडक अन्तरर्गतको ढुंगेधारामा बेलिब्रिज निर्माणका लागि ४ करोड ९३ लाख ८० हजार रुपैया स्रोत सुनिश्चित भएको छ । यो आयोजनामा पनि चालु आवमा निर्माण भई आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने छ ।
त्यस्तै हुम्लामा पनि तीन वर्षभित्र सडक निर्माण हुने गरी ४ करोड ७९ लाख ७२ हजार बढी बजेट सुनिश्चत भई आयोजना निर्माणको बाटो खुलेको छ । भने कालिकोमा फुगाड पक्की पूल निर्माणका लागि ४ करोड ९१ लाख ६६ हजार बजेट सुनिश्चत भएको छ । उक्त पूल तीन वर्षभित्र निर्माण भईसक्ने छ ।
साथै सुर्खेतको कैलाशटोल करेखोला वडा कार्यालय जोड्ने देवस्थान टोल सुकौराखोला पक्की पूल निर्माण गरिने छ । उक्ता पूल निर्माणका लागि १ करोड ७५ लाख ८४ हजार बढी बजेट सुनिश्चत गरिएको छ । यो आयोजना चालु आर्थिक वर्ष सुरु भई दुई वर्ष भित्र निर्माण सम्पन्न हुने भएको छ ।
पुष १८ गतेको निर्णयबाट भौतिक पूर्वाधार मन्त्रालय अन्तरर्गत सम्बन्धित जिल्लाका पूर्वाधार विकास कार्यालयले आयोजना निर्माण गर्ने गरी अख्तियारी प्रदान गरिने भएको छ । भौगोलिक रुपले विकट मुगुमा एकै वर्ष दुई वटा बहुवर्षिय आयोजना स्वीकृती भएपछि मुगुका सांसद जीत बहादुर मल्लले प्रदेश सरकारलाई धन्यबाद दिएका छन् । टुक्रे योजनालाई निरुत्साहित गर्ने लक्ष्य लिएको प्रदेश सरकारले जिल्लाको आबश्यकता मध्यनजर गर्दै बहुवर्षिय आयोजना स्वीकृत गरेको बताए ।
उनले भने,‘प्रदेशका बहुवर्षिय आयोजनामध्य मुगुका दुईवटा योजनालाई बिषेश प्रार्थमिक्ता दिएर स्रोत सुनिश्चित्ता गरी निर्माणको प्रक्रिया थालेकोले मुगु्बासी खुसी छन् । आयोजनाको शिघ्र कार्यान्वयन र गुणस्तर संचरना निर्माणमा विशेष ध्यान दिन जरुरी छ । ढुंगेधारामा पुल बनेपछि प्रसिद्ध छायानाँथ धाम जानका लागि समेत सहज हुने छ ।’
मुख्यमन्त्री जिल्ला आएको बेला नाग्म–गमगडीको सडक स्तर उन्नतिको माग गरेकाले भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालयले काम गर्ने गरी पहल भईरहेको समेत सांसद मल्लले उल्लेख गरे । साविक कर्णालीको पूर्वाधार विकासका लागि मुख्यमन्त्री यामलाल कँडेल र समग्र प्रदेश सरकार सकरात्मक रहेको उनको भनाई छ ।
साविक कर्णालीका तीन जिल्लामा ४ वटा बहुवर्षिय आयोजना स्वीकृत हुनुले यहाँको पूर्वाधार विकासले फड्को मार्ने आशा समेत गरिएको छ । यदपी साविक कर्णालीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सांसदहरुले टुक्रे योजना भन्दा ठुला आयोजनामा ध्यान दिएमा सबै जिल्लामा बहुवर्षिय आयोजना निर्माण हुने देखिन्छ ।
यदपी, अधिकांश सांसद तथा मन्त्रीहरु कार्यकर्ता पोस्ने खालका योजनामा सिमित हुँदा प्रदेश सरकारको लगानीनुसार पूर्वाधार विकास,सुशासनमा अपेक्षाकृत प्रतिफल आउन सकेको छैन् ।



