
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उद्घाटन भएको एक वर्ष बढी समय बितिसक्दा पनि डायलासिस सेवा संचालनमा आउन सकेको छैन् । नेपाल सरकारले ६ वटा उपकरण उपलब्ध गराएर तत्कालीन स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गरेको एक वर्षभन्दा बढी भईसक्दा पनि डायलासिस सेवा नियमित संचालन हुन सकेको छैन् ।
तत्कालीन स्वास्थ्यमन्त्री बस्नेतले २०८० साल भदौ १४ गतेका दिन डायलासिस सेवा सुरु गरेका हुन् । जुम्लामा डायलासिस सेवा शुभारम्भ भएको एक वर्ष ४ महिना बित्याे । तर एकातिर उपकरण थन्कीएका छन् । भने अर्काेतिर नागरिकले सास्ती पाएका छन् ।
डायलासिस सेवा संचालनमा नआउँदा कर्णालीबासीले महंगो खर्च गरेर काठमान्डौँ नेपालगन्ज जानु पर्ने बाध्यता हटेको छैन् । जुम्लामा डायलासिस सेवा शुभारम्भ संगै मृगौला सम्बन्धी विरामीले डायलासिस सेवाका लागि काठ्मान्डाैँ,नेपालगन्ज धाएर महंगो खर्च गर्नु नपर्ने भन्दै खुसीयाली छाएकाे थियाे। तर डायलासिस उद्घाटनकाे एक वर्ष ४ महिना पुग्दा समेत सेवा सुरु नहुँदा नागरिकले सास्ती पाएका छन् ।

उपरकण ल्याएर मन्त्रीको उपस्थितीमा शुभारम्भ गरिएको डायलासिस सेवाले दुर्गम कर्णालीका नागरिकले सेवा पाउने आशा गरिएपनि सेवा संचालनमा नआउँदा स्थानीयले वर्षाैदेखि सास्ती खेपीरहेका छन् । प्रतिष्ठानकै चिकित्सकका अनुसार वर्षमा २०/२५ जना डायलासिसका बिरामी जिल्लाबाहिर पठाउने गरिएकाे छ । तर प्रतिष्ठानमा डायलासिस उपकरण थन्कीएका छन् ।
समयमै डायलासिस सेवा नपाउँदा एककाे मृत्यु
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुचारु नभएकाे र समयमै बाहिर लिन नसक्दा डोल्पा मुड्केचुलाका गाउँपालिका वडा नं.७ निवासी ४० वर्षीय धर्म विककाे प्रतिष्ठानमै मुत्यु भएको छ ।
एक्कासी शरीर नचलेपछि धर्मलाई पुस २४ गते उपचारका लागि जुम्ला पुर्याईएकाे थियाे । केहिदिन उपचारपछि तत्काल उनलाई थप उपचार (डायलासिस) गर्नु पर्ने डाक्टरले सल्लाह दिए ।
जुम्लामा उपकरण भएपनि डायलासिस सेवा संचालन नभएकाेले अस्पतालले पुस २६ गते रेफर गर्याे । नेपालगन्ज लिने तयारी हुँदै थियाे । महंगाे खर्च लाग्ने भयाे, कसरी खर्च जुटाउने हाेला भन्ने मनमा डरकै बीच लिने तयारी भइरहेकाे थियाे । विडम्बना पुस २७ गते विहान करिब ८ बजे डाेल्पाका धर्म विकले समयमै डायलासिस सेवा नपाएर प्राण त्यागे ।
मृगाैलाका बिरामीलाई १/२ हप्ता सम्म डायलासिस गर्नु पर्ने त्यसपछि मात्रै मृगाैला प्रत्याराेपण गर्नुपर्छ । जुम्लामा डायलासिस नहुने भएपछि रेफर गरेका थियाै । विरामीलाई डायलासिसकै आबश्यता थियाे । उक्त सेवा समयमै नपाउँदा मृत्यु भएकाे प्रतिष्ठानका एक चिकित्सकले बताए ।

जुम्लामा डायलासिस सेवा नपाएपछि अस्पतालले २६ गते रेफर गरेपनि २७ गते विहान ८ बजेतिर मृत्यु भएकाे मृत्तक धर्मका दाइ टाउके विकले बताए । उनले कर्णाली मिसनसंगकाे कुराकानीमा भने,’जुम्लामा डायलासिस सेवा संचालन हुन नसकेकाे कुरा बल्ला थाहा पाए । डोल्पाबाट जुम्ला ल्याउनै १५÷२० हजार खर्च भयो । उपचारमा पनि त्यतिकै रुपैया खर्च भयाे । हामीले उपचार पाउन सकेनाै । तर अरु विरामीले त्याे नियती भाेग्नु नपराेस । छिटै संचालनमा ल्याउन पहल गरिनु पर्छ ।’

मृत्तक धर्मकाे शव डोल्पा लिने स्थिती नभएपछि अस्पताल र चन्दननाथ नगरपालिकाको सहयोगमा दानसाँघुमै दाहसंस्कार गरिएको छ । अन्य व्यवस्थापन र उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर लगायत अन्य कर्मचारीले निकै राम्राे सहयाेग गरेकाे उल्लेख गरे ।
धर्मकी पत्नी पुल्तीसरा विकले श्रीमान गुमाएर रित्ताे घर फर्किनुकाे पिडालाई आँसु मार्फत व्यक्त गरिन् । उनले भनिन,’ यति धेरै ठुलाे अस्पतालमा मृगाैलाकाे उपचार हुने सेवा संचालन नहुनु निकै दुखद हाे । डायलासिस सेवा जुम्लामै हुनु भनेकाे साविक कर्णालीका नागरिकले राहत पाउनु हाे । काठ्मान्डाैं नेपालगन्ज जाने दु:खबाट मुक्ति पानु हाे । खर्च र समय जाेगिनु हाे यसमा सम्बन्धित निकायकाे ध्यान जावस यहि भन्न चाहान्छु ।’
डायलासिस सेवा संचालनमा ल्याउने तयारी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डायलासिस सेवा संचालनमा ल्याउने तयारी गरेकाे छ । पुरानाे मेसिनले काम नगरेपछि नयाँ मेसिन ल्याएर डायलासिस सेवा संचालनकाे तयारी भईरहेकाे प्रतिष्ठानले जनाएकाे हाे ।
डायलासिस सेवा शुभारम्भ गर्दा संघिय सरकारले ६ मेसिन प्रतिष्ठानलाई उपलब्ध गराएकाे छ । जसमध्य महत्वपूर्ण उपकरण हाे (आराे) मेसिन । आराे मेसिनले डायलासिसका लागि (डिस्टीलरी वाटर) शुद्द पानी निकाल्छ ।
तर पुरानाे आराे मेसिनले निकालेकाे पानी गुणस्तरीय नभएपछि डायलासिस सेवा राेकिएकाे प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर पुजन राेकायाले बताए ।
डायलासिस सेवाका लागि आराे मेसिन मेरुदण्ड स्रह हाे । आराे मेसिनले स्पेशन पानी ननिकाले सम्म डायलासिस सेवा संचालन हुन सक्दैन् । उनले भने,’प्रतिष्ठानमा भएकाे पुरानाे आराे मेसिनले चित्त बुझ्दाे पानी निकाल्न सकेन् । ३/४ पटक परिक्षण गर्दा पनि स्पेशल पानी ननिस्कीएपछि सेवा राेकिएकाे थियाे । अहिले नयाँ मेसिन खरिद गरेर ल्याउने तयारी छ । आशा गराै चाडै डायलासिस सेवा संचालन हुने छ ।’
प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले पुरानाे आराे मेसिनले २/३ पटक परिक्षण गर्दा पनि नतिजा राम्राे आउँदा सेवा संचालन हुन नसकेकाे बताए।
नयाँ मेसिन खरिद भएर आउदै छ। उनले भने,’मेसिन ३/४ दिनपछि जुम्ला पुग्छ । ८ देखि १० लाख लागतकाे मेसिन आउदैँ छ । त्यसले प्रतिघण्टा १ हजार लिटर पानी निकाल्छ । आराे मेसिनले निकालेकाे पानी २४ घण्टा भित्र काठ्मान्डाैं लिएर ल्याबमा परिक्षण गर्नु पर्छ । परिक्षण सफल भएकाे खण्डमा मात्रै जुम्लामा डायलासिस सेवा सुरु हुने छ ।’
प्रतिष्ठानका सबै सेवालाई थप प्रभावकारी बनाउन लागि परेका छाै । केही सेवाहरु प्रक्रियाहरुकै कारण ढिलाई हुन पुगेपनि प्रभावकारी सेवा प्रवाहमा प्रतिष्ठान गम्भीर रहेकाे रजिष्टार महतकाे भनाई छ ।