कृषि समितिका सदस्य बसेकाे होटलको सीसीटीभी फुटेज र बिल झिकाउन  सांसद कठायतको माग

जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले २९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज र बील भरपाई झिकाउन माग गर्दै  उजुरी दिएकी छन् ।

प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा रास्वपा सांसद कठायतले पोखरास्थित होटल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सीसीटीभी फुटेज झिकाउन माग गरेकी हुन् ।

उनले सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाइ झिकाउन समेत माग गरेकी छन् ।

२४ पुसदेखि कृषि समितिले नेपालगञ्जबाट अनुगमन सुरु गरेको थियो । ६ दिने अनुगमनको क्रममा कृषि समितिका सदस्यहरू २९ पुसमा पोखराको उक्त होटलमा बसेका थिए ।

सांसद कठायतले कृषि समितिको अनुगमनका दौरान समिति सदस्यहरूको आचरण ठिक नभएको र सांसदहरूले अर्काको व्यक्तिगत जीवनबारे अनावश्यक टिकाटिप्पणी गरेको कुरा समिति बैठकमा उठाएकी थिइन् ।

सो विषयमा प्रमाण लिएर आउनू भनेपछि आइतबार सांसद कठायतले समितिमा सीसीटीभी फुटेज तथा हाेटल बस्दा भएकाे बील भरपाई  झिकाएर छानबिन गर्न माग गर्दै उजुरी दिएकी छन् ।


उजुरीमा भनिएकाे छ,’उपरोक्त सम्बन्धमा कृषि समितिले गएको मिति २०८१/०९/२४ देखि २०८१/०९/२९ सम्म नेपालगञ्ज देखि पोखरा सम्मको ६ दिने अनुगमन कार्यक्रमको विषयमा समिति बैठकमा छल्फल भएको हुँदा सो अनुगमन कार्यक्रम अन्तर्गत भ्रमणको सन्दर्भमा मिति २०८१/०९/२९ मा समिति सदस्य बसेको होटल ओपन हाउस पोखराको राति ८ बजे देखि १० बजे सम्मको सिसी टिभि फुटेज तथा उक्त दिनमा भएको खर्च विवरणको बिल भरपाई झिकाई उपलब्ध गराउन अनुरोध गर्दछु ।’

केही दिन अघि समितिकाे बैठकमा सांसद कठायत र समितिका सभापति बीच चर्काचर्की समेत परेकाे थियाे ।

प्रकाशित मिति : २०८१ माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस