भेरीखोलाको लामाबगरमा स्वास्थ्य चौकीको भवन निर्माण हुदैँ

जुम्ला – गएका वर्ष ०७८–०७९ साल लगातार दुई वर्ष अविरल बर्षाका कारण ठुलो बाढीपहिरो आएपछि तातोपानी गाउँपालिका – ७ र ८ वडामा पर्ने भेरीखोलाको लामाबगर स्वास्थ्य चौकीमा क्षति भयो । अहिले त्यो स्वास्थ्य चौकीको भवन निकै जोखिम अवस्थामा रहेको छ । त्यही निकै जीर्ण भवनबाट स्वास्थ्य चौकीबाट जेनतेन सेवा प्रवाह गर्दै आएका छन् । यही समस्यालाई मध्येनजर गर्दै लामाबगरमा संघीय सरकारको ७० लाख बजेटमा चालु आर्थिक वर्ष ०८१÷०८२ मा नयाँ भौतिक संरचना निर्माण हुन थालेको छ ।


स्वास्थ्य चौकी भवन निर्माणका लागि मापदण्ड अनुसार ६४० वर्गमिटर जग्गा आवश्कता पर्ने व्यवस्था रहेको छ । तातोपानी गाउँपालिका – ७ का वडाध्यक्ष तिलक रावतका अनुसार हामीसँग सरकार सार्वजनिक जग्गा ४ सय वर्गमिटर रहेको छ । मापदण्ड अनुसार जग्गा नपुग्ने भएकोले स्थानीय कालि रावतबाट ४०५ वर्गमिटर जग्गा निशुल्क प्राप्त गर्ने प्रक्रिया थालेका छौँ । उनले भने, अब छिट्टै निशुल्क जग्गा प्राप्त गरेपछि हामीसँग स्वास्थ्य चौकी भवन निर्माण गर्न ८०५ वर्गमिटर प्राप्त जग्गा प्राप्त हुन्छ । त्यसपछि छिट्टै भवन निर्माणको प्रक्रिया थालनी गर्ने छौँ ।
तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईका अनुसार दुई वर्षको बाढीपहिरोको कारण लामाबगर स्वास्थ्य चौकीमा क्षति भएर सेवा प्रवाहमा असहज भईरहेको छ । उनले भने, अब नयाँ भौतिक संरचना निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८१ माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस