
जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीको विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कामलाई सरकारले अगाडि बढाएको दाबी गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो सरकार आउँदा धुलो उडिरहेको मुग्लीन–पोखरा सडक आज चिल्लो र आकर्षक भएको बताएका छन्।
‘काठमाडौं–तराई द्रूत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको छ। चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिन अघि मात्रै ब्रेक–थ्रु भएको छ।’ उनले भने,‘ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र थियो। आज त्यसको काम द्रूत गतिमा अघि बढिरहेको छ।’
उनले सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दीगो बनाउन हामीले सुरुङ मार्गको योजना अघि सारेको उल्लेख गरे। उनले भने, ‘यस पटक संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा एक साता अघि सिद्धबाबा सुरुङमार्ग ब्रेक–थ्रु भएको छ। अब केही समयभित्र हामी यस सुरुङमार्गलाई सञ्चालनमा ल्याउने छौं। यसले पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठानलाई बुटवलसँग जोड्ने छ। यही सडक कालीगण्डकी करिडोरसँग पनि जोडिंदै छ र त्यहाँका जनताको जीवनमा यसले ठूलो परिवर्तन ल्याउने छ।’

उनले खेल हाम्रा युवाहरुको जीवनशैली बनेको दाबी गरे। उनले भने, ‘यस पटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको थियो। त्यसका लागि टेण्डर आह्वान भएको छ– तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको छ।’ उनले भने, ‘रंगशालाकै कुरा गर्दा सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको छ। देशको दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रंगशाला– यो हाम्रा युवाको भविष्यका लागि सुखद् सन्देश हो।’