चिसाे छल्न रारा ताल पुगे पाँच सय पाहुना चरा

जुम्ला । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पर्यटक संगै हरेक हिउँदमा आउने पाहुना चराको संख्या समेत बढ्दै गएको छ । हरेक वर्ष हिउँदमा चिसो छल्न रारा ताल आउने पाहुना चराको संख्या बढेको छ ।

रारा राष्ट्यि निकुञ्ज मुगुको तथ्यांकनुसार मुगुमा यस वर्ष पाँचसय बढी पाहुना चरा रारा पुगेका छन् । निकुञ्जले पुग २९ गतेको अन्तिम गणनानुसार १५ प्रजातीका पाँचसय बढी चरा रारा ताल पुगेको निकुञ्जका सूचना अधिकारी धर्मजीत साउदले बताए ।

उनका अनुसार गतवर्षको तुलनामा यस वर्ष रारामा पाहुना चराको संख्या उल्लेखीय रुपमा बढेको छ ।साईबेरिया,भारत,मंगोलिया लगायतका विभिन्न देशबाट चिसो छल्न मंसिरदेखि रारामा पाहुना चरा आउने क्रम सुरु हुन्छ । सूचना अधिकारी साउदले भने,‘१५ प्रजातीका पाँच सय चरा रारा आईपुगेका छन् । जसमध्य सबैभन्दा बढी (मुरल) कमनकुथ,कैलो टाउके हाँस,सुनजुरे हाँस,कालिजुरे हाँस,हरियो टाउके,खोया हाँस बढी संख्यामा छन् । गर्मी बढ्दै जाँदा आफै पलायन हुन्छन् । भने ढिलोमा बैशाख सम्म रारामै बस्छन् ।’

गत वर्ष ७ प्रजातीका करिब ३ सयबढी चराहरु मात्रै रारा पुगेका थिए । त्यतिबेला गणना ढिला भएका कारण पनि संख्या कम देखिएको हो । समुन्द्री सतहबाट दुई हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा ताल पर्यटकसंगै पंक्षीहरुका लागि आर्कषण केन्द्र बनेको छ ।

चिसो छल्ने रारा पुगेका चराहरुको गणना गरेर उनिहरुको संरक्षणको काम रारा राष्ट्यि निकुञ्जले गर्दै आएको छ । निकुञ्जका प्रमुख महेश न्यौपानले बताए । पाहुरा चरा यतिबेला रारा घुम्न आउने पर्यटकका लागि मुख्य आर्कषक पनि हुन् ।

उनले भने,‘स्वर्गकी अप्सरा उपनामले चर्चित रारा प्राकृतिक रुपमा आफै सुन्दर छ । जहाँ पर्यटकले आफ्ना सबै दुःख विर्सन्छन् । त्यसैमाथि पाहुना चराको आगमनले पर्यटकको मन लोभ्याउने गरेको छ । त्यसैले आगन्तुक चराको गणनादेखी संरक्षणमा विशेष जोड दिने गरेका छौ ।’

पाहुना चराको वासस्थान रारा निकुञ्जको मिलीचौर, ओखरबोट, मिजार, दोफे, महादेव मन्दिर, आर्मी ब्यारेक क्षेत्रमा रहेको छ । कमन कुट, खोया हाँस, मलाट हाँस, काले, खैरो, पहेले रङ्खका हाँसहरु रहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस