चन्दननाथ मिनी मार्केटमा विक्रीका लागि राखिएको रैथाने वस्तु । तस्बिरः सागर परियार
जुम्ला । चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाद्धारा जुम्लामा संचालित चन्दननाथ अर्गानिक मिनि मार्केटले करोडौको रैथाने अन्नबाली विक्री गरेको छ । सहकारीका सदस्यहरुलाई कृषिमा आर्कषित गर्न बचतका रुपमा बाली खरिद गर्ने,बजारीकरणमा जोड दिने र उत्पादन बढाउने लक्ष्यले संचालन गरिएको अर्गानिक मिनि मार्केटले करोडौको रैथाने अन्नबाली विक्री गरेको हो ।
२०६४ को १४ औँ जिल्ला परिषदबाट अर्गानिक जिल्ला घोषणापछि जुम्लाको उत्पादनलाई रुचाउन थालिएको छ । घरमै थन्कीने रैथाने उत्पादनलाई चन्दननाथ मिनि मार्केट संचालनपछि बजारीकरणमा टेवा समेत पुगेको छ । चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाले २०७४ फागुन महिनादेखी मिनि मार्केट मार्फत रैथाने वस्तुको लेवलिङ र प्याकेजिङ गरेर विक्री गर्न थालेको हो ।
जसमा सबैको रोजाईको खान्की बनेको कोदोको पिठो जुम्ला आउने पाहुनलाई उपहारका रुपमा दिने गरिएको छ । मिनि मार्केटको तथ्यांकलाई हेर्दा एकै वर्षमा १४ लाख ५० हजारको कोदोको पिठो मात्रै बाहिरी जिल्लामा विक्री गरिएको छ । मिनि मार्केटका जुम्ला सहित सुर्खेत,काठमान्डौँ लगायतका स्थानमा शाखा छन् । जहाँ कोदोको पिठोको अत्यधिक माग हुने गरेको मिनि मार्केटका व्यवस्थापक रिसिराम पाण्डेले बताए ।
उनले भने,‘कोदोको पिठो अन्य अन्नबाली भन्दा स्वास्थ्यका लागि निकै लाभदायिक हुने भएकोले माग अत्यधिक छ । रेर्कडनुसार हामीले एक वर्षमा १४ लाख ५० हजारको पिठो मात्रै बेचेका छौ । जिल्लामा न्यून उत्पादन भईरहेको बेला लाखौको पिठो विक्री हुनु पनि सुखद पक्ष हो । हामीले सहकारीका सदस्यको उत्पादन खरिद गर्ने भएकोले कोदोको उत्पादन बढाउन अनुरोध गरेका छौ ।’
साविक कर्णालीको ट्रान्जीट प्वाईन्ट जुम्ला भएकोले मुगु हुम्ला डोल्पा गएका आन्तरिक तथा बाह्य पर्यटकहरु जुम्ला पुगेर मात्रै फर्किने गर्छन् । जुम्लाबाट फर्किदै गर्दा उपहारका रुपमा लिने स्याउ,सिमी ओखर पछि कोदोको पिठो प्रथामिकतामा छ ।
जुम्लाको कोदोको पिठो खाएको मान्छे फेरी जुम्ला आउँदा धेरै मात्रा लिने गरेको पाण्डेले कर्णाली मिसनलाई जानकारी दिए ।
चन्दननाथ सहकारी संस्थामा करिब २० हजार साधारण सदस्यहरु छन् । जसले नियमित रुपमा आफ्नो उत्पादनलाई बचतका रुपमा राख्न मिनि मार्केटमा ल्याउँछन् । उचित मुल्य दिएर मिनि मार्केटले खरिद गर्ने गरेको छ । यसले सहकारीका सदस्यहरुलाई कृषिमा आर्कषित समेत गरेको ।
अर्गानिक कोदोको पिठोको माग बढी रहेकाले पुराउन सकिएको छैन् । काठमान्डौँ,नेपालगन्ज,पोखरा,सुर्खेत,विराटनगर,धनगडी लगायतका शहरमा रहेका ठुला ठुला होटलहरुले कोदोको पिठो धेरै मात्रामा माग्ने गरेपनि पुराउन भने नसकिएको मीनि मार्केट संचालक पाण्डेको भनाई छ ।
किसानबाट प्रतिकेजी दुईमा खरिद गर्ने र बजारमा दुई ५० प्रतिकेजी कोदो पिठो विक्री हुने गरेको छ । विशेष गरी जुम्लामा जिल्ला बाहिरका कर्मचारी धेरै रहेकाले दशै तिहार घर फर्किदा उल्लेखीय मात्रामा रैथानेबाली विक्री हुने गरेको छ । हरेक राष्ट्यि स्तरका कार्यक्रमहरुमा मायाको चिनोका रुपमा समेत कोदोको पिठो पठाउने गरिएको छ ।
आफ्ना साथी भाई देखी आफन्तलाई जुम्लाबाट उपहार स्वरुप कोदोको पिठो,ओखर स्याउ समेत लिने चलन छ । जसले जुम्ली रैथानेबालीको माग र महत्वलाई बढाउदै लिएको छ । यसैबीच मिनि मार्केटले मिनि मार्केटबाट प्राप्त २०७६ देखी हाल सम्मको विवरणनुसार १० करोड बराबरको सिमी,चामल,ओखर,भट्मास,स्याउका चाना,कोदोको पिठो चिनु कागुनो,गहत,जौको पिठो लगायतका वस्तु विक्री तथा निर्यात भएको छ ।
जुम्ला आउने पर्यटकदेखी यहाँ कार्यरत कर्मचारीहरु गृहजिल्ला फर्किदा जुम्लाको नासो स्वरुप अर्गानिक खाद्य वस्तु खरिद गरेर लिने गरेका छन् । सबै वस्तु एकै ठाउँमा पाईने भएपछि पर्यटकलाई पनि राहत भएको छ । दशै तिहारका बेला पर्यटकको घुईचो लाग्ने भएकाले सामान पुराउनै मुस्किल हुने गरेको छ ।
विगतका वर्षमा घरमै थन्कीउने रैथाने अन्नबाली विक्री हुन थालेपछि जुम्लाका किसान आत्मनिर्भर हुन थालेका छन् । वस्तु रुपैयाँमा विनिमय हुन थालेपछि आम्दानी समेत बढेको छ । विगतमा रुपैयाँ नभई सहकारीमा नियमित बचत हुन्थेन् । ऋण गरेर बचत गर्नुपर्ने किस्ता तिर्नु पर्ने अबस्था थियो । तर चन्दननाथ सहकारीले रैथाने उत्पादनलाई रुपैयाँमा विनियमय गर्न थालेपछि सहज भएको छ ।
मिनि मार्केटबाट प्राप्त विवरण अनुसार २०७६ यताका सात वर्षमा १० करोड बराबरको अर्गानिक वस्तुको विक्री तथा निर्यात भएको छ । जसमा सबैभन्दा बढी सिमि,ओखर र मार्सी चामल विक्री भएको छ । जसमा एक करोड ७५ लाख ५० हजार रुपैयाको आठ हजार मेट्रिकटन सिमि,एक करोड २६ लाख बराबरको दाँते ओखर र ८१ लाखको मार्सी चामल विक्री भएको छ ।
त्यस्तै ७२ लाखको स्याउको चाना,५७ लाख ६० हजारको जिम्बो,२१ लख ६० हजारको टिमुर, ६० लाख १० हजारको चिनुको चामल, ५७ लाख ५० हजारको कागुनो, ५४ लाखको फापरको पिठो विक्री भएको छ । साथै २४ लाख ५० हजारको गहत,१७ लाख ५० हजारको गुराउँस,एक लाख १२ हजारको कला विक्री भएको मिनि मार्केटले जनाएको छ ।
गहत र गुराउँस पत्थरी,मृगौला रोगी तथा मुटु दुख्ने बिरामीका लागि औषधी समेत हुन्छ । भने कृषि विकास कार्यालयको विवरणनुसार ०८१÷०८२ मा मात्रै ३६ लाख ४८ हजारको ६ सय ८ मेट्रिक टन जुम्ली भेडाबाट बनेको राडी पाखी निर्यात भएको छ । त्यस्तै ३ सय ८० मेट्रिक टन हिमाली भेडाको ऊनको कोटेपाखो विक्रीबाट ६८ लाख ४० हजार रुपैयाँ जुम्लामा भित्रिएको छ । भने १२ लाख ३६ हजारको खरायोको टोपी, १३ लाख २० हजारको खसीको मासु समेत निर्यात देखिन्छ ।
यसरी जुम्लाबाट वर्षेनी करोडौको अर्गानिक खाद्यन्न वस्तु विक्री तथा निर्यात हुने भएपनि सरकारले जुम्लाको रैथाने वालीको उत्पादन बढाउन ठोस नीति र कार्यक्रम ल्याउन सकेको छैन् । प्राकृतिक प्रकोपबाट पिडित किसानले राहत नपाउने,स्याउको सिजनमा बजार मुल्य नपाउने, रोग किरा लागेमा समयमै उपचार नपाउने जस्ता समस्या किसानले भोगिरहेका छन् । तथापी चन्दननाथ मिनि मार्केट संचालनपछि रैथानेबालीबालीको खरिद विक्री बढ्दा समस्याका बीच पनि किसान रैथाने बाली उत्पादनमा खटिएका छन् ।



