बयान दिन रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित

जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने अदालतमा उपस्थित भएका हुन् । 

जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार दर्ता गरेको पूरक अभियोजनमा  लामिछानेमाथि ठगी कसुरमा मात्र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसूर गरेको अभियोग लगाइएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७  रहेको छ । 

हाल जाहेरी परेको रकम रू ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । रू  ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रू १४ करोड २३ लाख छ हजार एक सय ३१  दशमलव ४७  जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ ।  

बचतकर्तालाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न छ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउने भराउनुपर्ने रकम रू ४३ करोड ३२ लाख सात हजार ९२८ दशमलव ७५ रहेको छ । व्यक्तिगत रूपमा जीवि राईबाट रू ४१ लाख ३० हजार, असरफअली सिद्दिकीबाट रू तीन करोड २० लाख र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरूङबाट रू दुई करोड ६४ लाख भराइनुपर्ने मागदाबी छ ।

लामिछानेको हकमा गोर्खा मिडिया नेटवर्कमा रू एक करोड ८० लाख रकम बराबरको शेयर रहेको देखिन्छ । गोर्खा मिडिया नेटर्वकको ग्लोबल आइएमई र हिमालयन बैंकको खातामा जीवि राई र निजको समूहले सञ्चालन गरेको सहकारी र विभिन्न कम्पनीबाट साहाराबाट रू एक करोड ग्लोबल आइएमईको खाताबाट रू तीन करोड ५० लाख जम्मा भएको उनले बताए । 

प्रकाशित मिति : २०८१ माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस