जुम्लामा एचपीभि खाेप अभियान शुभारम्भ,९ हजार किशाेरीलाई खाेप लगाइने

जुम्ला । पाठेघरकाे मुखकाे क्यान्सर विरुद्व लगाईने एचपीभी खाेप अभियान जुम्लामा आजदेखि सुरु भएकाे छ । देशभर माघ २२ गतेबाट खाेप अभियान सुरु भएपनि हिउँदे बिदाका कारण विद्यालय ढिला खुल्ने भएकाेले जुम्लामा आजदेखि (माघ २७) गतेबाट खाेप अभियान सुरु भएकाे हाे ।

जिल्ला समन्वय समितिका प्रमुख तथा खाेप समन्वय समितिका संयाेजक गाैरीनन्द आर्चाय,प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही लगायतका सराेकारवालाकाे उपस्थितीमा जुम्लाकाे कनिका निसा माविबाट खाेप अभियान सुभारम्भ गरिएकाे छ ।

जुम्लाका आठ स्थानीयतहका गरि झण्डै नाै हजार किशाेरीलाई एचपीभि खाेप लगाउने लक्ष्य राखिएकाे जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकाेटाले बताए । उनका अनुसार माघ २७ देखि फागुन २ गते सम्म जुम्लामा खाेप अभियान संचालन हुने छ ।

कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने १० देखि १४ वर्ष उमेर समुहका किशाेरीलाई पाठेघर मुखककाे क्यान्सर विरुद्द खाेप लगाईने छ ।

जुम्लामा हिउँदे विदाका कारण विद्यालय संचालन हुन ढिलाई हुने भएकाेले खाेप पाउनबाट धेरै किशाेरी छुट्न सक्ने अनुमान छ । यदपी लक्ष्यनुसारका सबै किशाेरीलाई खाेपकाे पहुँचमा ल्याउने स्वास्थ्य कार्यालय जुम्लाकाे दाबी छ ।

प्रकाशित मिति : २०८१ माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस