
जुम्ला – घरमा प्रयोग हुने ग्याँसका माध्यमबाट आगलागी भएमा नियन्त्रण गर्ने विषयमा समुदायलाई सचेत गरिएको छ । विपद् जोखिम न्युनिकरणको पूर्व तयारी अन्तर्गत ग्याँसका माध्यमबाट घरमा आगलागि भएमा न्युनिकरण गर्ने उपायका विषयमा समुदायलाई सचेत गराईएको हो । स्वीस रेडक्रसको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयको समन्वय, चन्दननाथ नगरपालिकाको साँझेदारी र नेपाल रेडक्रस जिल्ला शाखा जुम्लाद्धारा संचालित शहरी पूर्वतयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजना अन्तर्गत विपद् जोखिम न्युनिकरणका लागि ग्याँसबाट आगलागी भएमा नियन्त्रण गर्ने विधिका बारेमा समुदायमै पुगेर नमूना अभ्यासमार्फत सचेत गरिएको हो ।

माघ २९ गतेका दिन चन्दननाथ नगरपालिका – ४ को भारतीवाडा, ३० गते मालाभिड र सिंगाचौरको गाउँवस्तीका समुदायलाई ग्याँसबाट आगलागी भएमा नियन्त्रण गर्ने विधिका बारेमा सिकाईएको छ । घरको चुलोचौकमा बढी संलग्न हुने महिलालाई ग्याँबाट आगलागी भएमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराईएको हो । ग्याँसबाट घरमा यदि आगलागी भई हालेमा नआत्तिएर तथा पानीका प्रयोग नगरी बोरा अथवा बाग्लो कपडा भिजाएर ग्याँसको वरिपरिको भागमा हावा जान नदिएर नियन्त्रण गर्न सकिने विषयमा नगर प्रहरीले नमूना अभ्यासमार्फत समुदायलाई सचेत गराएका छन् ।
घरको भान्सामा प्रयोग हुने ग्याँसबाट आगलागी भएमा नियन्त्रण गर्न सकिने उपायका विषयमा समुदाय स्तरमा गरिएको अभ्यासले सहज बनाएको मालाभिडका स्थानीय सम्झाना देवकोटाले बताइन् । उनका अनुसार, समुदायमा पुगेर ग्याँसबाट हुने आगलागीका विषयमा सचेत गराउने काम राम्रो पक्ष हो । उनले भनिन्, अहिलेसम्म हामीले ग्याँसमा आगलागी भएमा नियन्त्रण गर्ने उपाय जानेका थियौँ । गाउँमै पुगेर गरिएको अभ्यासबाट ज्ञान प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका दिनेश सुनारले विपद् कृतिम र प्राकृतिक दुवै कारणले हुने बताए । समुदाय प्रहरी साँझेदरी कार्यक्रममार्फत विपद् जोखिम न्युनिकरणका विषयमा समुदाय स्तरमा प्रहरीले सचेतना प्रदान गर्दै आएको उनको भनाइ छ । गाउँमा आगलागी तथा विपद्का घटना भइ हालेमा प्रहरीको १०० नम्बरमा फोन गर्न समेत उनले अपिल गरेका छन् ।
नेपाल विद्युुत प्राधिकरण जुम्लाका प्रमुख राम असिस शाहले विद्युुतको कारणले पनि आगलागीका घटना हुने बताए । नाङ्गा तारहरू ठोेकिन गएमा आगलागी हुने भएकाले कतै त्यस्ता तार देखेको खण्डमा खबर गर्न उनले आग्रह गरेका छन् । विजुलीको कारणले घरभित्र पनि आगलागी हुने भएकाले घरको वाईरिङ गर्दा मोटो तारको प्रयोेग गर्न उनले सुझाए । यसैगरी, मालाभिडका स्थानीय नारायण चौलागाँईले आगलागीबाट ज्यान गएका उदाहरण सुनाउँदै ग्याँसको प्रयोगबाट हुने लागलागीका विषयमा समुदायलाई सचेत गराउने काम राम्रो भएको बताए ।
वनमा आगलागी हुँदा अग्नि रेखा भएको, पर्खाल लगाएको र बाटो बनेको ठाउँमा कम क्षति भएको उनको भनाइ छ । प्रत्येक समुदायमा पुगेर सचेतनामुलक कार्यक्रम गरेमा आगलागीका घटनामा कमी आउने चौलागाँईले बताए ।
यस्तै मालाभिडका अर्का स्थानीय दिपेन्द्र विक्रम हमालले आगोको एउटा झिल्कोले पुरै नास हुने बताए । आगलागीको विषय सुन्दा सामान्य लागे पनि यसबाट ठुलो क्षति हुने उनको भनाई छ । हमालका अनुसार, वन बचेन भने अक्सिजन पाउन पनि गाह्रो हुने भएकाले वनमा जाँदा जथाभावी चुरोटको सेवन नगर्न समेत अनुरोध छ । मालाभिडको जंगलमा यहि साता भएको आगलागीबाट समुदायले ठुलो क्षति भोग्नु परेको उनको भनाई छ । मानवीय कारणले आगलागी हुने गरेको रेडक्रस जुम्लाका एलिना भुजेलले बताए । उनका अनुसार घरमा ग्याँसको प्रयोगबाट हुने आगलागीका विषयमा समुदाय स्तरमा सचेतना प्रदान गर्न खोजिएको जानकारी गराए । आगलागीका घटना बढ्न नदिन, नियन्त्रणमा सहयोग पु¥याउन र घटनाबारे समुदायलाई सचेत बनाउने उद्देश्यले नमुना अभ्यास गरिएको उनको भनाइ ।
जिल्लामा आगलागीका घटना बढ्दै गएकाले त्यसको न्युनिकरणका लागि सबै निकाय बिच समन्वय हुुनुपर्ने भुजेलले बताए । जिल्लामा विपद्का घटना हुन नदिन नमुना अभ्यासले पूर्वतयारी, घटना नियन्त्रण र उद्धारमा सहयोग पुग्ने उनको भनाई छ । नमुना अभ्यासको समुदायले अवलोकन गरेका छन् ।