
जुम्ला – हिमा गाउँपालिका – ५ स्थित प्रथामिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा सञ्चालित तीन दिने निशुल्क स्वास्थ्य शिवरमा एक हजार २८ जनाले सेवा लिएका छन् । गाउँपालिकाको आयोजना र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, सुर्खेतको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा नागरिकले सेवा लिएका हुन् ।
फागुन ३– ५ गतेसम्म सञ्चालित शिविरमा महिला ७०९ जना र पुरुष ३१९ जनाले सेवा लिएको हिमा गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द भण्डारीले बताए ।
उनले भने, स्त्री तथा प्रसुति, हाडजोर्नी, नाक कान घाटी, रेडियोलोजी, मानसिक, छाला र बाल रोगलगायत अन्य सेवाका २१ जना विशेषज्ञ चिकित्सकले सेवा दिएका हुन् । १० जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको छ । तीन दिने शिविर सम्पन्न पश्चात बाँकी औषधि तथा अन्य सामग्री प्रथामिक स्वास्थ्य केन्द्रमा हस्तात्रण गरिएको छ ।
नागरिकको घरदैलोमै दुई दर्जन विशेषज्ञ चिकित्सकको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविरमार्फत विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए । उनले भने, नागरिकको सहजताका लागि पालिकाले विभिन्न निकायको समन्वयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
