जुम्ला – जुम्लाका १२ वडा बालविवाह मुक्त घोषणा भएका छन् । यहाँका ८ स्थानीय तहका ६० वटा वडामध्ये १२ वडा बालविवाह मुक्त घोषणा भएका हुन् । हिमाका ७ वडा मध्ये १, २, ३ र ५ नम्बर वडा बालविवाह मुक्त भएका छन् । बधबार एक औपचारिक कार्यक्रमका बीच हिमा गाउँपालिकाको ५ नम्बर वडा बालविवाह मुक्त घोषणा गरिएको हो ।
बालविवाह मुक्त वडा घोषणा हुनेमा कनकासुन्दरी गाउँपालिका– ४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिंजा गाउँपालिका – २, ४ र ६, रहेको छ । यहाँका स्थानीय तहसँग सम्वन्य सहकार्यमा प्लान नेपाल, पेस नेपाल, क्याड नेपाल, सर्बाेदय नेपाल, किर्डाक, आईएनएफ, सुस्वालगायतका संघ संस्था बालविवाह जस्ता सामाजिक न्यायका विषयमा काम गर्दै आएका छन् ।
उमेरले २० वर्ष नपुगी बालविवाह गर्ने गराउनेलाई तीनदेखि पाँच वर्षसम्म कैद सजाय र ३० हजार रुपियाँसम्म जरिबाना भराउने कानुनी प्रावधान रहेको छ । दिगो विकासको लक्ष्य अनुसार सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त गर्ने सरकारको नीति रहेको छ । सोही नीति अनुसार गैरसरकारी संस्थाको समन्वयमा यहाँका स्थानीय तहले बालविवाह नभएका सुचक पुरा गरी बालविवाह वडा मुक्त घोषणा गर्दै आएका छन् ।
पालिकाले बालविवाहविरुद्धको रणनीति योजनासमेत बनाइसकेको छ । आगामी दिनमा व्यवहारमा कार्यान्वयन गर्दै बालविवाह गर्ने विरुद्ध कडा रुपमा प्रस्तुत हुने गाउँपालिका प्रवक्ता रतन बहादुर शाहीले बताए । उनले भने, यो अभियानलाई निरन्तरता दिन सबै सरोकारवाला निकायलाई आव्हान गर्दछौँ ।
बालबिवाह मुक्त वडा घोषणा हुने सबै सुचक पुरा गरि बालबिवाह मुक्त वडा घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए । उनले भने, यहाँका ७ वडा मध्ये ४ वडा बालविवाह मुक्त घोषणा गरी सकेका छौँ । अब बाँकी ३ वडा पनि सवै सुचक पुरी गरी घोषणा गर्ने छौँ । निकट भविश्यमै पालिकालाई बालविवाह मुक्त घोषण गर्ने छौँ ।




