तिलाको जुम्लाकोटमा क्षयरोग स्क्रिनिङ शिविर

क्षयरोगी पहिचान गर्न १०८ जनाको खकार संकलन, कुडारी स्वास्थ्य चौकी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यावमा परीक्षण गरिने

जुम्ला – तिला गाउँपालिका – ८ जुम्लाकोट स्वास्थ्य चौकीमा क्षयरोग स्क्रिनिङ शिविर सञ्चालन गरिएको छ । सोही वडामा दुई जना सर्ने क्षयरोगीका विरामी भएको र अरुलाई पनि सर्न सक्ने सम्भावना देखिएकोले स्क्रिनिङ शिविर सञ्चालन गरिएको हो ।


तिला गाउँपालिका स्वास्थ्य शाखा जुम्लाको आयोजनामा गरिएको शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य कार्यालय जुम्लाका स्वास्थ्यकर्मी सहितको टोली ग्रामीण स्वास्थ्य चौकीमा पुगेको थियो । पालिका भित्र रहेका सम्भावित क्षयरोगको खोजपड्तालका लागि माईक्रोस्कोपी शिविर सञ्चालन गरिएको क्षयरोग फोकल प्रसन उत्तम देवकोटाले बताए ।
उनले भने, यहाँका करिब १०८ जनाको खकार संकलन गरिएको छ । संकलित खकार कुडारी स्वास्थ्य चौकीको ल्याव र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको ल्यावमा परीक्षण गरिने छ । रिपोर्ट आउन दुई दिन समय लाग्ने देखिएको छ ।
जनस्वास्थ्य सेवा कार्यालयबाट क्षयरोग हेर्ने स्वास्थ्यकर्मी सहितको टोली यहाँका सम्भावित क्षयरोगका विरामीको स्वास्थ्य चेकजाँच गरिएको छ ।” गाउँपालिकाका स्वास्थ्यकर्मी गाउँमै गएर सम्भावित क्षयरोगका बिरामीको पहिचान गरी थप स्वास्थ्य उपचार र सल्लाह दिन क्षयरोगसम्बन्धी निःशुल्क माईक्रोस्कोपी क्याम्प संचालन गरिएको फोकल प्रसन देवकोटाले बताए ।
गाउँपालिका भित्र अहिलेसम्म ८ जना क्षयरोगका विरामी पत्ता लगाई स्वास्थ्यकर्मीको निगरानीमा औषधी सेवन गरिएका छन् । क्षयरोग मुक्त पालिका बनाउन प्रत्येक वर्ष गाउँमै स्वास्थ्य शिविर संचालन गरि सोही अनुसार निधानका उपाया गर्दै आएको देवकोटाको भनाइ छ ।
जनस्वास्थ्य कार्यालय जुम्लाका क्षयरोग फोकल प्रसन अमरसिंह रावलका अनुसार जुम्ला जिल्लाभर चालु आर्थिक वर्षको माघ महिनासम्म २७ जना क्षयरोगी रहेका छन् । उनले भने, सवै विरामीले क्षयरोगको औषधि सेवन गर्दै आएका छन् । विरामीले नियमित औषधि नखाने र पोषिला खाने कुरा नखाने गर्नाले क्षयरोग बल्जिने गरेको छ ।
सूक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग नै क्षयरोग हो । स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी धेरै छन् । विश्वमा मात्र होइन नेपालमा पनि क्षयरोगका बिरामी बढिरहेकाछन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस