जुम्ला तिला गाउँपालिका – ८ नम्बर वडामा जुम्लाकोट र पुरुगाउँ रहेका छन् । यिनै दुई गाउँमा कार्यक्षेत्र रहेको जुम्लाकोट स्वास्थ्य चौकी रहेको छ । यसै जुम्लाकोट स्वास्थ्य चौकीमा गर्भवती महिलाईलाई सुरक्षित सुत्केरी गराउनको लागि बर्थिङ सेन्टर सञ्चालिन गरिएको छ ।
यो बर्थिङ सेन्टर सुत्केरी गराउनका लागि अन्य वडाका महिलाहरु पनि आउने गर्दछन् । गर्भवति महिलालाई सुरक्षित सुत्केरी गराउनका लागि आवासिय बर्थिङ सेन्टर रहेको छ । जुम्लाकोट स्वास्थ्य चौकी इन्चार्ज विराजु जिसी भन्छन् गाउँघर नजिकै सुरक्षित बर्थिङ सेन्टर भएको हुनाले होमडेलिभरी शून्य रहेको छ । उनले भने, हामी स्वास्थ्यकर्मीले पनि सहज रुपमा सेवा प्रवाह गर्दै आएका छौँ ।
गाउँघरमा रहेको स्वास्थ्य चौकीको सेवा प्रवाहलाई गुणस्तरीय बनाउने आफु पनि लागी परेको उनी बताउन्छन् । यहाँका स्थानीयवासीलाई जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै हाम्रो प्रमुख लक्ष्य रहेको छ । इन्चार्ज जिसीले भने,“ स्वास्थ्य सेवालाई सबैको पहूँचमा पु¥याउनु हाम्रो दायित्व र जिम्मेवारी रहेको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउनेका कुरुवालाई समेत खाना सहितको व्यवस्थापन गरिएको छ । भौतिक संरचनालाई भरपुर प्रयोगमा ल्याएर सेवा प्रवाहलाई जनमुखी बनाएका छौँ ।
स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिन पालिकाको स्वास्थ्य शाखामै पुगेर औषधी ल्याउने गरिएको छ । जटिल अवस्थाका सुत्केरीलाई तुरुन्तै एम्बुलेन्स सवारी साधनको व्यवस्थापन गरी सरदरकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लैजाने गरिएको उनले बताए ।
तिला गाउँपालिका भित्र रहेका पाँचवटा स्वास्थ्य चौकी मध्ये अघिल्लो तीन वर्षमा सबैभन्दा बढी बर्थिङ सेन्टरमा सुत्केरी गराउनेमा जुम्लाकोट स्वास्थ्य चौकी पहिलो बनेको छ । आर्थिक वर्ष २०७९÷८० मा ३७ जना, आर्थिक वर्ष २०८०÷०८१ मा ३३ जना र चालु आर्थिक वर्ष २०८१÷८२ को माघ मसान्तसम्म २६ जना गरी जम्मा ८८ जनाले बर्थिङ सेन्टरमा सुत्केरी भएका छन् । सोही तीन वर्ष भित्र १६ जनालाई रेफर गरिएको स्वास्थ्य चौकीका इन्चार्ज जिसीले बताए ।
त्यस्तै तिला–९ मा रहेको राँसा स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०७९÷८० मा १९ जना, २०८०÷०८१ मा १८ जना र चालु आर्थिक वर्ष ०८१÷८२ माघ मसान्तसम्म ६ जना गरी जम्मा ४३ जनाले बर्थिङ सेन्टरमा सुत्केरी भएको स्वास्थ्य चौकीमा इन्चार्ज दत्त रावतले बताए । दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुदाँ सेवा प्रवाहमा समस्या हुने गरेको छ । पालिकाकाले स्थायी दरबन्दीमा करार नियुक्ति गर्दै आएको राँसा स्वास्थ्य चौकीले जनाएको छ ।
रारालिही स्वास्थ्य चौकीका अधिकृतं हिमाली खत्रीका अनुसार आर्थिक वर्ष २०७९÷८० मा ४० जना र गत आर्थिक वर्ष २०८०÷८१ मा २२ जना गरी जम्मा ६२ जनाले बर्थिङ सेन्टरबाट सुत्केरीले सेवा लिएका छन् । यो चालु आर्थिक वर्षको माघसम्म बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरीले सेवा लिनबाट बञ्चित भएको स्वास्थ्य चौकीका अधिकृत खत्रीको भनाइ छ ।
मातृ र नवजात शिशुको मृत्युदर न्यूनिकरण गर्नका लागि राज्यस्तरदेखि गैरसरकारी संस्थाले उत्तिकै लगानी गरेको देखिन्छ । संस्थागत सुत्केरी गरी मातृ र नवजात शिशुको स्वास्थ्य सुरक्षाको लागनी हुने गरेपनि समयमा पोषण र प्रोत्साहन भत्ता सुत्केरी महिलाले पाउने गरेका छैनन् । जुम्लाकोट स्वास्थ्य चौकी इन्चार्ज जिसी भन्छन् सुत्केरी महिलालाई डिस्चार्ज गर्ने बेलामा पोषण र यातायात बापतको प्रोत्साहन भत्ता उपलव्ध गराउनु पर्ने हो । तर चालु आर्थिक वर्षको माघ मसन्तसम्म सुत्केरी भएका महिलालाई उपलव्ध गराउन सकिएको छ ।
उनले भने, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत फेरबदल हुने र समयमा भुक्तानी आउने भएका कारणले पनि यो समस्या हुने गरेको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठक बसी निर्णय गरेका छौँ अब छिट्टै गाउँपालिकाबाट भुक्तानी लिएर सुत्केरी महिलालाई पोषण र प्रोत्साहन भत्ता वितरण गर्ने छौँ ।



