जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकामा यान्त्रिक कार्यालय स्थापना हुने भएकाे छ । जुम्ला कालिकाेट र मुगु ३ वटै जिल्लालाई सेवा उपलब्ध हुने गरि हिमामा यान्त्रिक कार्यालय स्थापना हुने भएकाे हाे ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सडक विभागका महानिर्देशक तथा यान्त्रिक महाशाखा उप-महानिर्देशकसंग हिमामा यान्त्रिक कार्यालय स्थापनाका लागि माग गरेका थिए ।
आबश्यक पर्ने ८ राेपनी जग्गा गाउँपालिकाले उपलब्ध गराउन सकेमा छिटै यान्त्रिक कार्यालय स्थापना गर्न सकिने सडक विभागले जानकारी दिएकाे ।
आईतबार हिमा गाउँपालिकालाई परिपत्र गर्दै सडक विभागले भनेकाे छ,’गाउँपालीकाका अध्यक्ष श्रीमान् लक्ष्मण बहादुर शाही ज्यू बाट सडक विभागका महानिर्देशक र यान्त्रिक महाशाखाका उप-महानिर्देशक ज्यू सँग छलफल गरी उक्त गाउँपालीकाको कुनै उपयुक्त स्थानमा यान्त्रिक कार्यालय, जुम्ला स्थापना गर्न अनुरोध भए बमोजिम मुगु, जुम्ला र कालीकोट ३ वटै जिल्लामा सहज ढङ्गले सेवा पुग्ने गरी सोहि गाउँपालीका अन्तर्गत उचित स्थानमा जग्गा उपलब्ध भएमा यान्त्रिक कार्यालय त्यस क्षेत्रमा स्थापना गर्न सकिने व्यहोरा अनुरोध छ ।’
साथै विभिन्न यान्त्रिक उपकरण राख्ने, मर्मत संभार गर्ने आदि कार्य गर्नुपर्ने हुदाँ न्युनतम ८ (आठ) रोपनी जग्गा आवश्यक हुने देखिएकाेले उक्त जग्गा पालिकालाई उपलब्ध गराउन समेत अनुराेध गरिएकाे छ ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमामा यान्त्रिक कार्यालय स्थापना हिमाबासीकाे लागि खुसी कुरा भएकाे बताए ।
उनले भने,’यान्त्रिक कार्यालयले विकास निर्माणका कार्यमा यान्त्रिक उपकरणहरु उपलब्ध गराउनुका साथै बाढि पहिरो लगायत दैवि प्रकोपमा आकस्मिक मर्मत तथा उद्दारका कार्य गर्न सहयोग पुराउने छ । साथै यान्त्रि कार्यालय स्थापनापछि हिमाकाे भौतिक पुर्वाधार तथा सामाजिक रुपान्तरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएकाे छ ।’
आबश्यक जग्गा उपलब्धताका लागि सबै वडाध्यक्ष तथा स्थानीयबासी संग छलफल गरि टुग्याईने र चाडै यान्त्रिक कार्यालय स्थापना गरिने अध्यक्ष शाहीकाे भनाई छ ।
जुम्लामा सडक डिभिजनले कार्यालय स्थापना भएकाे वर्षाैपछि यान्त्रिक कार्यालय स्थापना गरेकाे छ ।
हिमा गाउँ गाउँपालिकामा यान्त्रिक कार्यालय स्थापना हुनुलाई विकास निर्माण,राहत उद्दार,पुर्नस्थापना लगायतका दृष्टिले ठुलाे उपलब्धी मान्न सकिन्छ ।



