अपाङ्गता परिचय पत्र नहुँदा सामाजिक सेवाबाट बञ्चित !

ह्रवीलचियर पनि नहुँदा आवतजावतमा समस्या

जुम्ला – सिंजा गाउँपालिका – ४ की ४५ वर्षीया अपाङ्गता भएकी व्यक्ति रत्ना कुमारी बुढाले अपाङ्गता परिचय पत्र नहुँदा सामाजिक सुरक्षा भत्ता पाउन बञ्चित भएको गुनासो गरिन् । उनले भनिन्, सानै १४ वर्षको उमेरमा पोलिएर अपाङ्गता भएको हुँ । दुवै खुट्टा पोलिएका हुन् । उनी ह्रवीलचियरमा आवातजावत गर्ने अपाङ्गता भएका व्यक्ति व्यक्ति हुन् । तर उनीसँग ह्रवीलचियर पनि नहुदा घिश्रिएर हिडडुल गर्नुपर्ने अवस्था रहेको छ ।
दैलेखको महावु गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–१२, नारायण टोलमा बस्दै आएकी बुढाले सिंजा गाउँपालिका – ४ का बलिचन्द्र बुढासँग २०७५ सालतिर विवाह भएको बताइन् । उनले भनिन्, एक छोरा छ । गाउँघरमा हारगुहार गरेपछि छोराको जन्म दर्ता र मेरो नागरिकता बनेको हो । तर अहिलेसम्म पनि अपाङ्गता परिचय पत्र बनेको छैन । अपाङ्गता परिचय पत्र नहुँदा मासिक दुई हजार प्राप्त हुने सामजिक सुरक्षा भत्ता पाउन सकेको छैन । पाङ्गता परिचय पत्र नहुदा सहयोगी दाता आईएनएफबाट ह्रवीलचियर पनि प्राप्त गर्न सकिएको छैन ।


सामाजिक सुरक्षा भत्ता नपाउदा दैनिक जीवनयापनमा समस्या भएको उनले बताइन् । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ मङ्सिर ११ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको थियो ।
विगत लामो समयदेखि घरेलु हिंसा गरेको पीडितले बताइन् । पीडित अपाङ्गता भएकोले परिचयपत्र समेत नबनाइदएको पीडितको गुनासो छ । पीडितले हिंसा गर्न थालेपछि पतिसँगको सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत सुर्खेतमा मङ्सिर १० गते मुद्दा दायर गरेकी थिइन् । अदालतमा मुद्दाको लागि आवतजावतमा समस्या भएको भन्दै पीडितले आर्थिक समस्या र कानुनी प्रक्रियामा जानका लागि कानुनी शुल्कमा समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा मङ्सिर ४ गते निवेदन दिएकी हुन् ।
पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको मङ्सिर १० गते बसेको सचिवालय बैठकको निर्णय अनुसार नगद १२ हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेकका कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताए ।
सिंजा गाउँपालिका – ४ का वडाध्यक्ष रञ्जित बुढाका अनुसार उहाँ सुर्खेतमा बस्नु हुन्छ । सुर्खेतमा बस्ने भएकाले बसाईसराईका लागि आधार भएन । उहाँको नाममा कुनै पानी विजुलीको पनि प्रमाण भएका र जग्गा जमिन पनि नाममा नभएकोले बसाईसराईको कागज दिन समस्या भएको हो ।
उनले भने, यही जुम्लामै अपांगता परिचय पत्र बनाउन खोजेको भए बन्थ्यो । तर उहाँले सुर्खेतमा बस्ने भएकाले त्यतै परिचय पत्र बनाउन खोज्नु भयो । त्यसका लागि बसाईसराईको प्रमाण चाहिन्छ । बसाईसराईको प्रमाण दिनका लागि उहाँको नाममा जग्गाजमीन भएको प्रमाण हुनु पर्छन । कि उहाँ बस्ने वडाले सिफारिस दिएको खण्डमा बसाईसराईको प्रमाण दिन सकिने अवस्था हुन्छ । तर अहिले कुनै आधार नभएकोले बसाईसराईको प्रमाण दिन कानुनी रुपमा अटचन भएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस