जुम्ला । जुम्लामा पहिलो पटक नेपाल धितोपत्र बोर्डले सेयर बजारबारे लगानीकर्तालाई वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ । पछिल्लो समय सेयर बजार प्रति आर्कषण बढेपनि साक्षरता अभावले अन्यौलता सृजना भएपछि धितोपत्र बोर्डले वित्तिय साक्षरता संचालन गरेको हो ।
पूँजी बजारलाई व्यवस्थित गर्न,साना तथा ठुला लगानीकर्ताको हक हित संरक्षण तथा पूँजी बजारको विकासमा टेवा पुराउने उदेश्यले कर्णालीका जिल्ला जिल्लामा पुगेर धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना अभिबृद्धि कार्यक्रम गरिएको छ ।
कार्यक्रममा धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तेज प्रसाद देवकोटाले शैक्षिक रुपमा नागरिक साक्षर भएपनि सेयर बजारबारे अन्यौलता धेरै भएको हुँदा वित्तिय साक्षरता आबश्यक रहेको बताए । अझ ग्रामिण भेगका लगानी कर्तावित्तिय साक्षरताको पहुँचमा छैनन् । सेयर आवेदन भर्नेदेखि खरिद विक्री लगायतका पक्षमा उस्तै समस्या छ ।
उनले भने,‘जुम्लामा ठुला लगानीकर्ता नभएपनि साना लगानीकर्ताको लगानी जोखिममा पर्न नदिनका लागि साक्षरता आबश्यक छ । भने नेप्से परिसूचक,धितोपत्र बजार,लगानीकर्ताको सुरक्षा,वस्तु विनिमय लगायतका विषयमा जानकारी गराउन पनि जोड दिएका छौ ।’
पछिल्लो समयमा राम्ररी नबुझेर हचुवामा लगानी गर्ने प्रचलन बढेकोले धितोपत्र बोर्डले जिल्ला जिल्लामा पुगेर साक्षारताका कार्यक्रम गरिरहेको उल्लेख गरे । पुँजी बजार र मुद्रा बजारबारे व्यापक जनचेतना अभिबृद्दि हुनु पर्ने उल्लेख गरे ।
जुम्लाका दिपेन्द्र विक्रम हमालले २०७२ सालमै ब्रोकरको शाखा लिन खोजेपनि प्रक्रिया झन्झटले हुन शाखा खोल्न नसकेको बताए ।उनले केही ठुला व्यापारीको हातमा सेयर मार्टेट रहेको भन्दै यसले साना लगानीकर्ता मारमा परेको र धितोपत्र बोर्डले साना लगानी कर्ताको वकालत गर्न नसकेको गुनासो गरे ।
आर्थिक विकास,ओैधोगिक विकासले मात्रै पूजी बजार फष्टाउने भएकोले औधोगिक विकासमा जोड दिनु पर्ने उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पूरिचन्द्र देवकोटाले बताए ।
जुम्लामा पहिलो पटक सेयर बजार बारे अन्तरक्रिया भएकोप्रति खुसी व्यक्त गर्दै अध्यक्ष देवकोटाले सेयर बजारबारे सबैले जानकारी पाउन आबश्यक रहेको उल्लेख गरे । बैकिङ पहुँच विस्तार भएपनि वित्तिय साक्षरताको अभावले पनि लगानीनुसार प्रतिफल नआउने समस्या रहेकोले गाउँगाउँमा वित्तिय साक्षरता पुराउनु पर्नेमा जोड दिए ।



