जुम्ला । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि पदाधिकारी उम्मेदवारकाे टुङ्गो लगाएको छ ।
चैत ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गत जुुम्ला बहुमुखी क्याम्पसम हुन लागेको स्ववियु निर्वाचनका लागि पदाधिकारीहरू उम्मेद्वार टुंगो लगाएको हो ।
स्ववियु अध्यक्षमा उम्मेदवार जयकृष्ण जैसी,सचिवमा जीवन भक्रि र कोषाध्यक्षमा आशिष बुढाले उम्मेदवारी दिने सर्वसम्मत निर्णय भएकाे अखिल क्रान्तिकारी जुम्लाका अध्यक्ष धर्मराज रावलले जानकारी दिए । यसअघि २०७९ सालको स्ववियु निर्वाचनमा जैशी सचिवमा निर्वाचित भएका थिए ।
अध्यक्षका उम्मेदवार जैशीले विद्यार्थी हकहित तथा क्याम्पस सुधारको मुद्दालाई अगाडि बढाएको बताउनुभयो । विगतदेखि नै विद्यार्थी हकहितको पक्षमा र क्याम्पसभित्रका विकृति विसंगीका विरुद्धमा लड्दै आएको उनको भनाइ छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने भएको छ । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो ।




