
जुम्ला । आसन्न चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गर्दै अखिल (क्रान्तिकारी) जुम्लाले प्रतिबद्धता पत्र सार्वजानिक गरेकाे छ । जुम्ला बहुमुखी क्याम्पस प्रसार समिति जुम्लाले मंगलबार प्रतिबद्धता पत्र सार्वजनिक गरेको हाे।
स्ववियू निर्वाचनका लागि उम्मेद्वार छनाेट गरिसकेकाे अखिल क्रान्तिकारीले जिल्लाका अन्य संगठन भन्दा पहिला प्रतिबद्धता पत्र सार्वजानिक गरेकाे हाे ।
अध्यक्षमा जयकृष्ण जैशी,सचिवमा जीवन भक्री र काेषाध्यक्षमा बुढालाई उम्मेद्वार बनाईएकाे छ ।
यस्ता छन् प्रतिबद्धताहरु…
स्ववियु परिचालन कमिटीका संयाेजक भीमराज रेग्मीले प्रतिबद्धता पत्र सार्वजानिक गरे । सार्वजानिक प्रतिबद्धता पत्रमा गुणस्तरीय, वैज्ञानिक, रोजगारमूलक र जीवनोपयोगी शिक्षा व्यवस्था, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि पहल, क्याम्पसमा प्रविधिमैत्री अध्ययन वातावरणको सिर्जना तथा भौतिक पूर्वाधारको विकास लगायतका विषय समेटिएका छन्।
प्रतिबद्धता पत्रमा क्याम्पसलाई डिजिटलाइजेसन गर्दै आवेदन, भर्ना, शुल्क तथा शैक्षिक गतिविधिहरूलाई अनलाइनमार्फत कार्यान्वयन गर्ने योजना उल्लेख गरिएको छ। हरेक तहमा कम्तीमा एउटा विषय खसभाषामा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइनेछ भने समयानुकूल पाठ्यक्रम निर्माण र संशोधनका लागि पहल गरिनेछ। साथै, शैक्षिक क्षेत्रमा रहेका विकृति, विसंगति र माफियाकरणको अन्त्य गर्दै नियमित पठनपाठन तथा परीक्षा प्रणालीलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाइएको छ।

विद्यार्थीहरूको अध्ययनमा सहजिकरण गर्न सुविधा सम्पन्न ई-लाइब्रेरी तथा अत्याधुनिक प्रयोगशाला निर्माण गरिनेछ। आर्थिक रूपमा कमजोर तथा मेधावी विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक कल्याणकारी कोष स्थापना गर्ने योजना समेत सार्वजनिक गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्य विमाको व्यवस्था गरिनुका साथै प्राथमिक उपचार कक्ष व्यवस्थित गरिने र निःशुल्क सेनिटरी प्याड उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिएको छ।
छात्रवृत्ति प्रणालीलाई बलियो बनाउँदै ६० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने, विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुटको सुविधा दिने तथा कलेजमा करिअर परामर्श इकाई सञ्चालनमा ल्याउने योजना अखिल (क्रान्तिकारी) ले अघि सारेको छ। ‘पढ्दै कमाउँदै’ अवधारणालाई कार्यान्वयन गर्दै विद्यार्थीहरूलाई रोजगारीसँग जोड्ने, सुविधा सम्पन्न छात्रावासहरूको व्यवस्था गर्ने तथा प्रमाणपत्र धितो राखी ऋण दिने प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि पत्रमा उल्लेख छ।
स्ववियु निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको प्रतिबद्धता पत्रले विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार, सुविधाको विस्तार र समग्र शैक्षिक सुधारमा ध्यान केन्द्रित गरेको देखिन्छ।