जिल्ला स्तरिय यूवा भेला, १६ बुद्धे घोषणा पत्र जारी

जुम्ला – ”युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता, सबैको मानव अधिकारको सुनिश्चितता” भन्ने मुल नारासहित जिल्ला युवा भेला जुम्लाबाट १६ बुद्धे घोषणा पत्र २०८२ जारी भएको छ । लोकतान्त्रिक मान्यतामा आधारित संघीय संविधानले प्रत्याभुत गरेको सबैको अधिकारको संरक्षण र सम्वद्र्धन एवम् सशक्तिकरण गर्ने उद्देश्यलाई केन्द्र विन्दुमा राखेर युवाको हक, अधिकारको सुनिश्चितता गर्ने प्रतिवद्धता जाहेर गरिएको छ ।
नेपालको संविधान, राष्ट्रिय युवा नीति २०७२ तथा युथ भिजन २०२५ लाई आत्मसाथ गर्दै, युवा नीति तथा कार्यक्रम सम्बन्धी घोषणा पत्र १९९८ लाई स्मरण गरिएको छ । नेपालले दिगो विकास लक्ष्यमा हालसम्म गरेको प्रगति तथा प्रतिवद्धतालाई सम्मान गर्दै प्लान ईन्टर नेसनल नेपाल र साँझेदार संस्था पेस नेपाल र क्याड नेपालको साँझेदारीमा संचालित सशक्त वालिका परियोजना अन्र्तगत बाल भेला गरिएको हो । जुम्लाका सवै पालिकाका युवाहरुको सहभागितामा युवा नेतृत्व विकास र स्थानिय तहमा युवा सहभागिता भन्ने मुल नाराको साथ ३ दिने जिल्ला स्तरीय युवा भेला कार्यक्रम सम्पन्न भएको छ ।


संविधानले प्रत्याभूत गरेका अधिकारहरुलाई आत्मसात गर्दै हक अधिकारलाई वास्तविक रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी स्थानीय सरकार, नागरिक समाज र सरोकारवालाको वृहद परामर्शपछि नेपालको संविधान तथा राष्ट्रिय युवा नीति २०७२ अनुरुपका प्रतिवद्धता कार्यान्वयन गर्न यहाँका युवाको निम्न अनुसारका प्राथमिकतालाई संबोधन गर्न स्थानीय सरकार तथा सरोकारवालालाई आह्वान गरिएको छ ।


१. स्थानीय सरकार र त्यस अन्र्तगतका हरेक तहहरुमा युवाहरुको अर्थपुर्ण सहभागिता र नेतृत्वलाई सुनिश्चित गर्दै, उनीहरुले परिवर्तनको संवाहकको रुपमा खेल्न सक्ने प्रमुख भुमीकालाई स्विकार्दै र उनीहरुको साझेदारी विकासमा क्षमता सुदृढ गर्न सामुहिक पहल गर्ने ।
२.समग्र आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रमा युवाको सारभुत सहभागीताको सुनिश्चितताका साथै युवाहरुलाई स्थानीय तहका विभिन्न समिति तथा नीति निर्माण तहमा प्राथमिकताका साथ सहभागी गराउन आवश्यक पहल गर्न सम्बन्धित निकाय समक्ष यो भेला अनुरोध गर्दछ ।
३.युवाको सशक्तिकरणका लागि शिक्षा, सीपमूलक तालिम, रोजगारी सिर्जना तथा कानूनी एवं मनोसामाजिक परामर्श सहायता सहज पहुँचयोग्य बनाउनुपर्ने । सबै पालिकामा युवा मनोसामाजिक परामर्श सेवा संचालन गर्नुपर्ने ।
४.युवाहरुलाई लागु औषध दुव्र्यसनी बाट बचाउन जीवनपयोगी सीप विकास तालीम लगायत चेतनामुलक कार्यक्रम तथा अभियानहरु संचालन गर्ने ।
५हामी युवाहरु सामाजिक रुपान्तरणको लागि सामाजिक जागरण, विभेद न्यूनिकरण तथा परम्परागत हानिकारक अभ्यासहरु अन्त्यको लागि प्रयत्नशिल रहने । युवाहरुका यस्ता सामाजिक रुपान्तरणका अभियानहरुमा स्थानीय सरकारहरुले हातेमालो गर्ने ।.
६. पेशामा स्थापित भएका र स्थापित हुदै गरेका युवाहरुको क्षमता विकासमा प्रत्यक्ष सहयोग पु–याउन आवश्यक बजेट विनियोजन गर्न जुम्ला जिल्लाका स्थानीय सरकारहरु समक्ष यो सम्मेलन अनुरोध गर्दछ । साथै स्थानीय तहबाट युवाहरुको स्थिती र प्रगती सम्बन्धी विवरणात्मक तथ्यांक व्यवस्थित गर्न यो सम्मेलन माग गर्दछ ।
७. विपद् ब्यवस्थापन, समाजिक जागरण, सरसफाइ अभियान तथा साना मर्मतका कार्यहरुमा युवाहरुको क्षमता विकास गर्ने । यसरी क्षमता विकास गरिएका युवाहरुलाई स्वयमसेवकको रुपमा परिचालन गर्न सबै स्थानीय तहले नीतिगत व्यवस्थाको लागि पहल गर्ने ।
८. हामी युवाहरु योजना निर्माण तथा कार्यन्वयनको चरणमा युवाहरुले सक्रिय सहभागिताको प्रतिवद्धता गर्दै.स्थानिय तहको योजना निर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सबै स्थानिय तहहरुलाई आग्रह गर्ने ।
९. बालविवाह न्यूनिकरण, बालश्रमको अन्त्य तथा बालाबालिकाको समग्र विकासको लागि युवा क्लब, युवा संजालहरुले सहयोग गर्ने र उनीहरुको संलग्नता बढाउन स्थानिय तहलाई अनुरोध गर्ने ।
१०. स्थानिय तहमा युवा संग सम्वन्धित नीति, नियम तथा कार्यविधि निर्माण तथा कार्यन्वयन गर्न पैरवि गर्ने तथा युवा लक्षित बजेट तथा कार्यक्रम निर्माणको लागि सवै निकायमा प्रस्तावना पेश गर्ने ।
११ स्थानीय उत्पादनको बजारीकरणको लागि आवश्यकता र पुर्वाधारको अध्ययन, निजी तथा सार्वजनीक व्यापारीक प्रतिष्ठान संग सहकार्य गरी छोटो अवधिको.(२÷३ महिनाको) तालीम र व्यापारीक प्रतिष्ठानमा रोजगारको अवसर सिर्जना गर्न सबै पालिकाबाट सहजीकरणको लागि अनुरोध गर्ने । युवाहरुलाई रोजगारीमा समावेश गर्न लोग सेवा तयारी कक्षा संचालन गर्न पहल गर्ने ।
१२.जुम्ला जिल्लाको शैक्षिक अवस्था सुधार तथा स्वास्थ्य सेवाको प्रभावकारीताको लागि सरोेकारवालाहरुको ध्यानाकर्षण गर्ने । बिद्यालयमा नर्स, मनोसामाजिक परामर्श सेवाको विस्तारको लागि जुम्ला जिल्लाका स्थानीय तहहरुलाई अनुरोध गर्ने ।
१३. लैङ्गिक हिंसा, घरेलु हिंसा तथा समाजमा व्याप्त झै झगडा नियन्त्रण गर्न युवाहरुलाई सकारात्मक सोच सम्वन्धि तालीम संचालन गर्ने ।
१४. युवाहरुको उद्यमशिलता विकास तथा प्रतिभा विकासको अवसर सिर्जना गर्न सवै सरोकारवालाहरुको ध्यानाकर्षण गर्ने । पर्यटन, कृषि, जडीबुटी, खनीज जस्ता पहिचान भएका तर प्रर्वद्धन र विकास गरी आयआर्जन र रोजगारीको क्षेत्र बढाउन सकिने सम्भावनाका क्षेत्रमा आवश्यक पहल गर्न सरोकारवालाको ध्यानाकर्षण गर्ने ।
१५. जलबायु परिवर्तनका प्रभाव र यसले समुदायमा पारेको प्रभावका बारेमा सचेतनामुलक कार्यक्रममा युवाको सहभागीता र जलबायु परिवर्तन तथा वातावरणको क्षेत्रमा समुदाय तहमा बनेका संरचनाहरुमा युवाको समानुपातिक सहभागीता सुनिश्चित गर्न यो भेला सबैमा अनुरोध गर्दछ ।
१६. युवा समुह, क्लब तथा संजालहरुले संचालन गरिआएको सचेतनामुलक अभियानहरुमा स्थानीय सरकारबाट क्षमता विकास र आवश्यक सहयोगका कार्यक्रमहरु संचालन गर्नुपर्ने ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस