
जुम्ला । जुम्लाकाे ताताेपानी गाउँपालिका र चन्दननाथ नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएकाे छ । दुई पालिकाबीच विकास निर्माण तथा सेवा प्रवाह लगायतका विषयमा आपसी समन्वय सहकार्य गर्ने उदेश्यले भगिनी सम्बन्ध कायम गरिएकाे हाे ।
आईतबार भगिनी सम्बन्धनकाे सम्झाैता पत्रका दुई पालिकाका प्रमुख, तथा प्रशासकीय अधिकृत लगायतका व्यक्तिले हस्ताक्षर गरेका छन् ।
ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाई,प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायत,चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायत, प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले सम्झाैतापत्रमा हस्ताक्षर गरेका हुन् ।
चन्दननाथ नगरपालिका जुम्ला र तातोपानी गाउँपालिका जुम्ला बिचमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्था बमोजिम अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गरी आपसी समन्वय सहकार्य र साझेदारी मार्फत दुई पालिकाको बिचमा अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलिकरण गर्न दुवै पालिकाको निर्णयानुसार चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिका विच तपसिलका विविध क्षेत्रहरुमा सहकार्य साझेदारी तथा समन्वय गर्न भगिनी सम्बन्ध स्थापना गर्न यो सहमति गरिएकाे छ।
यस्ता छन् भगिनी सम्बन्ध स्थापनाका लागि गरिएका सम्झाैता
१. भगिनी सम्बन्ध स्थापनाको उदेश्यः दुई पालिकाहरुका बिच भगिनी सम्बन्ध स्थापना गरी हितैषी तथा मैत्रीपूर्ण सम्बन्ध मार्फत संस्थागत प्रणालीलाई अझ सदृढ र सबल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन स्वशासन र समृद्ध पालिका निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले यो सहमति गरेका छौ ।
२. संस्थागत सवलता र सुदृढीकरणमा सहकार्यः स्थानीय सरकारलाई नेपालको संविधान, संघीय कानून, प्रदेश कानून तथा अन्य प्रचलित ऐन कानूनद्धारा तोकिएका काम, कर्तव्य, अधिकार तथा दायित्व बहन गर्न आपसमा विचारविमर्श तथा अन्तरक्रिया गरी दिशाबोध गर्नेछौ ।
३. असल अभ्यास तथा सफल अनुभवको आदान प्रदानः जन निकटको स्थानीय सरकारको हैसियतले निर्वाह गर्नुपर्ने कानूनर्नी तथा शासकीय दायित्वहरुलाई स्थानीय मौलिक परिवेशको पृष्ठभूमिमा दुई पालिका सरकारका सांगठनिक स्वरुप, संस्थागत संरचना र भूमिकालाई सवल, सुदृढ र प्रभावकारी बनाउन एकआपसका अनुभव, कार्यशैली, असल अभ्यास र महत्वपूर्ण उपलब्धिहरु आदान प्रदान गर्नेछौ ।
४. स्थानीय पर्यटन प्रवर्द्धनः मूर्त तथा अमूर्त संस्कृति, सम्पदा र पर्यटनलाई स्थानीय सरकारको समृद्धीको आधार मान्दै दुई पालिका क्षेत्रभित्रका जिवन्त संस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रको संरक्षण, प्रवर्द्धन, विकास र प्रचार प्रसारमा सहकार्य गर्नेछौ ।
५. प्रकृति तथा पर्यावरणको संरक्षणः प्रकृति र पर्यावरणको समुचित सन्तुलनबाट मानव समाजको विकास र समृद्धीलाई प्रवर्द्धन गर्ने भएकाले आपसी सहकार्य, ठोस योजना तथा नतिजामूखी क्रियाकलाप सञ्चालन गरी प्रकृति र पर्यावरणको समुचित संरक्षण गर्न- साझेदारी गर्नेछौ ।
६. स्थानीय सुशासनमा सहकार्यः स्थानीय शासनमा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी राज्यले आत्मसात गरेका समानुपातिक, समावेशी तथा न्यायोचित वितरण प्रणाली मार्फत सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न आवश्यक संस्थागत संरचना, सूचना प्रविधी, मानव संसाधन, वित्तिय प्रवन्ध समेत परिचालन गरी स्थानीय शासन पद्धतिलाई सुदृट बनाउन सहकार्य तथा समन्वय गर्नेछौ ।
७. स्थानीय सरकार साझेदारी कार्यक्रमः स्थानीय स्तरमा सञ्चालन हुने मौलिक संस्कृति तथा पर्यावरण प्रवद्धन सम्वद्ध आयोजना तथा परियोजनाहरुको सञ्चालन तथा व्यवस्थापन गर्न साझेदारी, सहकार्य तथा आपसी सहयोग प्रवर्द्धन गर्नेछौ ।
८. स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्यः स्थानीय स्तरमा उत्पादन हुने बहुमुल्य जडिबुटी, स्याउ, सिमि, ओखर लगायतमा प्राङ्गारिक कृषि उत्पादन वृद्धि तथा बजार व्यवस्थापनका लागि दुई पालिका बिचमा सहकार्य गरी स्थानीय उत्पादन तथा बजार व्यवस्थापनलाई प्रवर्द्धन हुने कार्यक्रम सञ्चालन गर्नेछौ ।
९. मानवीय पालिका बनाउन सहकार्यः सामाजिक सुरक्षा र गरिबी निवारणका क्षेत्रमा सहकार्य गरी दुवै पालिकालाई उच्च स्तरको मानवीय पालिकाका रुपमा विकास गर्न सहकार्य गर्नेछौ 1
१०. आपसी हितका लागि अध्ययन तथा अवलोकन कार्यक्रमः जनप्रतिनिधी, कर्मचारी तथा पालिकावासीहरुमा रहेको ज्ञान, शिप तथा अनुभवको आदानप्रदान गर्न अध्ययन तथा अवलोकन भ्रमण, अन्तरक्रिया, गोष्ठि जस्ता कार्यक्रमहरु दुवै पालिकाको हित हुने गरी सहकार्यमा सञ्चालन गर्नेछौ ।
११. फोहर मैला व्यवस्थापन साझा लगानीः दुवै पालिकाको बढदो जनसंख्या अव्यवस्थित बसोबास तथा शहरीकरणबाट श्रृजित फोहरमैलाको दिगो व्यवस्थापनका लागि दुवै पालिकाले उपयुक्त स्थान पहिचान गरि सयुक्त लगानीमा फोहरमैला व्यवस्थापन गर्नेछौ ।
१२. सिमा बिवाद क्षेत्र निर्धारणः दुवै पालिकाको सिमाना एक आपसमा जोडिएको र पटक पटक सिमा विवाद आई रहने भएकाले दुवै पालिकाका जनप्रतिनिधी बसि आपसी समझदारीमा सिमा बिवाद समाधान तथा क्षेत्र निर्धारण गर्नेछौ ।
१३. तिलानदी संरक्षणः दुबै पालिकाको क्षेत्र भएर बग्ने तिलानदी मानविय अतिक्रमण भई फोहर तथा नदीमा रहेका माछा समेत बिस्थापित भई रहेको अवस्थालाई मध्यनजर गरि नदी सफा राख र माछा संरक्षणका लागि सयुक्त रुमा योजना बनाई लागु गर्नेछौ ।
१४. साधन प्रयोगः दुबै पालिकाको स्वामित्वमा रहेका दमकल, एम्बुलेन्स, शव वाहन, ट्याक्टर, स्काभेटर, टिप्पर लगायतका साधन मानविय विपदको समयमा दुबै पालिकाले नियमानुसार दस्तुर तिरी निर्वाध रुपमा एक आपसमा प्रयोग गर्न पाउनेछन ।
१५. सहकार्य तथा सहलगानीः दुबै पौलिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, जलविधुत, यातायात, पर्यटन प्रवर्द्धन लगाएतका क्षेत्रमा दिर्घकालिन योजना बनाई दुबै पालिकाका नागरिकको हित हुने बिषयमा सहकार्य गरि सहलगानीमा काम गर्नेछौ ।