जुम्ला । नेपाली सेनाद्वारा जुम्लाकाे कनकासुन्दरी गाउँपालिकामा संचालित नि:शुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिकले सेवा पाएका छन् । आर्थिक अभावले उपचार गराउन नसकेका स्थानीयले नि:शुल्क स्वास्थ्य शिविर संचालन हुँँदा राहत पाएका छन् ।
कनकासुन्दरी-६ गोरुचौर स्थित आधारभुत विद्यालयमा साेमबार देवीदत्त गण जुम्लाकाे आयाेजनामा संचालित नि:शुल्क स्वास्थ्य शिविरबाट कनकासुन्दरीका ५५६ जना स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
विशेषगरी सिंजा क्षेत्रका तीन पालिका- कनकासुन्दरी, सिंजा र मुगु जिल्लाको खत्याड गाउँपालिकामा बसोवास गर्ने स्थानीय नागरिकलाई लक्षित गरी शिविर संचालन गरिएकाे हाे । जसमा महिला ३ सय १९, पुरूष १ सय ८४ र बालबालिका ५३ गरि जम्मा ५ सय ५६ जनाले सेवा लिएका छन् ।
गाउँमै विशषज्ञ स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन । कुनै समय सेना प्रहरीकाे पाेशाक देख्दा पनि डराउनु पर्ने भाग्नु पर्ने अबस्था थियाे ।
एक स्थानीयले भने,’अहिले सेना देश जनताकाे शान्ति सुरक्षा संगै स्वास्थ्य सेवा लिएर घरमै आउन थाले । याे भन्दा खुसीकाे कुरा अरु के हुनसक्छ । आर्थिक नहुँदा उपचार नगराई बसेका गाउँमा धेरै छन् । नि:शुल्क शिविरले त्यस्ता विपन्न नागरिकलाई ठुलाे राहत मिलेकाे छ । नेपाली सेनाका नागरिक मैत्री गतिविधिले सेना र नागरिकबीचकाे सम्बन्ध पनि प्रगाढ हुँदै गएकाे अनुभूति हुन्छ ।’

स्वास्थ्य शिविरमा नं.२४ गुल्मका डाक्टर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका जनरल फिजिसियन, स्त्रीरोग, दन्तरोग विशेषज्ञ सहितको मेडिकल टोली कनकासुन्दरी पुगेकाे थियाे ।
नि:शुल्क स्वास्थ्य शिविर संचालनका लागि कनकासुन्दरी गाउँपालिका र जनस्वास्थ्य सेवा केन्द्र जुम्लाकाे समेत समन्वय रहेकाे थियाे ।
दुर्गमका नागरिकलाई सेवा दिने र सेना तथा नागरिक बीचकाे सम्बन्ध समधुर बनाउने लक्ष्यले स्वास्थ्य शिविरकाे आयाेजना गरिएकाे देविदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धिरज थापाले बताए ।
विभिन्न कारणले स्वास्थ्य सेवाकाे पहुँचबाट टाढा रहेका नागरिकलाई नि:शुल्क स्वास्थ्य शिविरले राहत दिलाउने गणपति थापाकाे अपेक्षा छ ।



