
जुम्ला । जुम्लामा ट्रायल पास गरिसकेका हरुलाई दिईने एकवर्ष परिक्षण काल रहने ‘क्यूआर कोड’ कार्ड वितरण सुरु भएको छ । यातायात व्यावस्था सेवा कार्यालय जुम्लाले झट्ट हेर्दा हुबहु स्मार्ट लाईसेन्स जस्तै देखिने क्यूआर कोड कार्ड बुधबारदेखी वितरण सुरु गरेको हो ।
हेर्दा स्मार्ट लाईसेन्स जस्तो देखिएपनि सक्कल लाईसेन्स नभएको र ट्रायल पास गरि सकेका लाई एक वर्षका लागि दिईने परिक्षण पेपरलाई अहिले क्यूआर कोड कार्डका रुपमा छापेर दिन सुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रमुख लोक बहादुर महतले बताए ।
उनले भने,‘कार्यालयले विगतमा ट्रायल पास गरेकालाई पेपरमा प्रिन्ट गरेको एक वर्षका लागि परिक्षण लाईसेन्स दिईन्थ्यो । तर पेपर हराउने,लुगाँ धुदा धोईने जस्ता गुनासो बढ्यो । मन्त्रालयले यातायातका सबै सेवाहरु पेपर लेस बनाउनु पर्ने निर्देशन दिएपछि हामीले स्मार्ट कार्ड जस्तै देखिने क्युआर कोर्ड भएको कार्ड छापेर दिन सुरु गरेका छौ । यसले सेवा ग्राहीलाई ठुलो राहत हुने अपेक्षा छ ।’
बुधबार ट्रायल पास गरिसकेका जीवन रोकायालाई क्याआर कोडको कार्ड वितरण गरिएको छ । अबबाट ट्रायल पास हुने सबैलाई एक वर्षका लागि क्यूआर कोेड उपलब्ध गराईने छ । ट्राफिक प्रहरीले चेक गर्दा क्युआर कोड स्क्यान गरेपछि सबै विवरण देखिने छ । भने पेपर जस्तो गोजीमा राख्नु पर्ने पट्याउनु पर्ने,हराउने,भिज्ने कुनै पनि जोखिम र झन्झटको समेत अन्त्य हुने छ ।